काठमाडौं । स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो सामाजिक सञ्जालमा एक अर्ब फलोअर पाउने पहिलो व्यक्ति बन्ने सङ्घारमा छन् । दुई साताअघि युट्युबमा जोडिएका रोनाल्डो चाँडै नै यो आँकडा पार गर्ने दिशामा छन् ।
युट्युबमा जोडिएसँगै उनले सब्सक्राइबर सम्बन्धी कैयौं रेकर्डहरू आफ्नो नाममा बनाए । उनी सबैभन्दा कम समयमा एक लाख, १० लाख, २० लाख, ५० लाख, एक करोड, दुई करोड हुँदै पाँच करोड सब्स्क्राइबर पाउन सफल भए । हालसम्म उनको युट्युब च्यानलमा छ करोड दुई लाख बढी सब्स्क्राइबर रहेका छन् ।
रोनाल्डोको इन्स्टाग्राम अकाउन्टमा ६३ करोड ९० लाख बढी फलोअर रहेका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनलाई १७ करोड बढीले फलो गरेका छन् । रोनाल्डो इन्स्टा र फेसबुकमा सबैभन्दा बढी फलोअर भएका व्यक्ति हुन् ।
सामाजिक सञ्जाल एक्समा ११ करोड ३० लाख बढी फलोअरका साथ उनी बढी फलोअर हुने अकाउन्टको शीर्ष तेस्रो स्थानमा छन् । युट्युबमा छ करोड बढी सब्सक्राइबरका साथ उनी सबैभन्दा भढी सब्क्राइबर हुने च्यानलको शीर्ष ३९ औं स्थानमा छन् । अन्य सामाजिक सञ्जालका अकाउन्टको तुलनामा रोनाल्डोले सबैभन्दा बढी फलोअर युट्युबबाट पाइरहेका छन् ।
चिनियाँ शर्ट भिडिओ प्लेटफर्म ‘क्वाइस्चो’ मा रोनाल्डोले सन् २०२० मा अकाउन्ट बनाएका थिए । छोटा भिडिओ शेयर गर्न सकिने प्लेटफर्ममा उनले चिनियाँ समर्थकसँग जोडिन उक्त प्लेटफर्मसँग सहकार्य गरेर अकाउन्ट बनाएका थिए । सो प्लेटफर्ममा रोनाल्डोका फलोअरको सङ्ख्या ९२ लाख ४४ हजार बढी रहेको छ ।
त्यस्तै चिनियाँ सामाजिक सञ्जाल विबोमा पनि रोनाल्डोको अकाउन्ट छ । उक्त प्लेटफर्ममा उनका फलोअरको सङ्ख्या ७२ लाख ६७ हजार बढी रहेको छ ।
यी सबै प्लेफर्ममा रोनाल्डोले पाएको फलोअरको सङ्ख्या ९९ करोड ९२ लाख बढी रहेको छ । एक अर्ब फलोअर पाउनै लाग्दा उनले युट्युबमा ‘Road to 1 Billion… Let’s break the record together!’ क्याप्सन राखेर युट्युबमा भिडिओ लाइभ गरेका छन् ।
यो समाचार तयार पार्दासम्म सबै सामाजिक सञ्जालमा गरी रोनाल्डोले ९९ करोड ९२ लाख ९२ हजार बढी फलोअर पाएका छन् ।
