• Monday 5th of October 2026

सुवास नेम्वाङको निधन नेपालको कम्युनिष्ट र लोकतान्त्रिक आन्दोलनका लागि पीडा र क्षति : एमाले


  • धनकुटा खबर
  • .

काठामडौं । नेकपा एमालेका उपाध्यक्ष स्वर्गीय सुवासचन्द्र नेम्वाङले नेपालको संविधान निर्माणमा गरेको योगदान नेपालको इतिहासमा अमिट रहेन नेकपा एमालेले जनाएको छ ।

नेकपा एमालेले मंगलबार शोक वक्तव्य जारी गरी संविधान सभाका अध्यक्षका रूपमा नेम्वाङले नेपालको संविधान निर्माण गर्ने ऐतिहासिक संविधान सभाको दुई/दुई पटक नेतृत्व गर्दै संविधान निर्माण गर्न अग्रणी भूमिका खेल्नुभएको जनाएको छ । ‘उहाँको योगदान नेपालको इतिहासमा अमिट रूपमा स्थापित छ’, एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

उहाँले व्यवस्थापिका संसद्को सभामुख र र संविधान सभाको अध्यक्ष गरी चार पटक सभामुखको जिम्मेवारी अत्यन्त कुशलतापूर्वक बहन गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । २०४८ र २०५२ सालमा दुई पटकसम्म राष्ट्रियसभा सदस्य रहनुभएका नेम्वाङले २०५१ सालमा मनमोहन अधिकारी प्रधानमन्त्री रहनुभएको नेकपा एमालेको सरकारमा कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रीका हैसियतमा मुलुकमा कानुनी शासनको सुदृढीकरणका लागि अत्यन्त गहन भूमिका खेल्नुभएको एमालेले स्मरण गरेका छ । उहाँ जनतामाझ कति लोकप्रिय हुनुहुन्थ्यो भन्ने कुराको पुष्टि उहाँ २०५६, २०६४, २०७०, २०७४ र २०६९ मा सम्पन्न निर्वाचनमा इलामबाट निरन्तर विजयी भएको तथ्यबाट प्रमाणित हुने विज्ञप्तिमा उल्लेख छ ।

मृदुभाषी, सरल र कसैका आँखामा पनि नबिझाउने सार्वजनिक छवि निर्माण गर्नुभएका नेम्वाङ विभिन्न राजनीतिक दल र पक्षहरूसँग समन्वयका लागि विशिष्ट क्षमता राख्ने नेता भएको विज्ञप्तिमा जनाइएको छ । ‘अत्यन्त जटिल र तनावपूर्ण अवस्थालाई पनि सहज तुल्याउँदै समस्याको निकास निकाल्न उहाँले धेरै पटक अविस्मरणीय भूमिका खेल्नुभएको छ’, विज्ञप्तिमा लेखिएको छ ।

नेम्वाङले कम्युनिष्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनमा नै क्षति पुगेको विज्ञप्तिमा उल्लेख छ । ‘सामाजिक आर्थिक रूपान्तरणको अभियान तथा लोकतन्त्र, सामाजिक न्याय, संविधान र विधिको शासन तथा मानव अधिकारका पक्षमा अविचलित रूपमा उभिनुहुने नेम्वाङको असामयिक देहावसानले उहाँको परिवार र नेकपा एमाले पार्टी पङ्क्तिका लागि मात्रै होइन, नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनकै लागि ठुलो पीडा र क्षति पुगेको छ’, विज्ञप्तिमा लेखिएको छ ।

नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष, संविधान सभाका अध्यक्ष एवं पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको गए राति निधन भएको थियो । नेम्वाङको विसं २००९ साल फागुन २८ गते बुबा रामबहादुर नेम्वाङ र आमा अपिन्द्रकुमारी नेम्वाङको कोखबाट इलाम नगरपालिका–७ मा जन्म भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖