• Monday 5th of October 2026

दावाका सहयोगीको बयान – सुन किन्ने मान्छे खोज्नु, किलोमा २० हजार कमिसन आउँछ भनेका थिए


  • धनकुटा खबर
  • .

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका किशोर बस्नेतले दावा छिरिङले पक्राउ पर्नुभन्दा कम्तीमा १५ दिनअघि आफूलाई भेटेर ग्राहक खोज्न आग्रह गरेको बताएका छन् ।

सरकारी वकिलसँगको रोहवरमा प्रहरीसमक्ष दिएको बयानमा उनले दावाले लाजिम्पाटस्थित क्याफे डे स्यालोनमा बोलाएर बिस्कुटको आकारमा सुनको फोटो देखाएको बताएका छन् ।

‘ठमेलमा अन्य चाइनिजहरुले यस्तो किमिसको सुन ल्याउँदैछन्, सुन खरिद गर्ने मान्छे खोज्नु, सुन बिक्री गर्ने र खरिद गर्नेले आफैं कारोबार गर्छ भनेका थिए’, बस्नेतले भनेका छन्, ‘त्योवापत प्रतिकेजी २० हजार रुपैयाँ नेपाली रकम तपाईंलाई कमिसन आउँछ भनेका थिए ।’

त्यसदिन आफूले दावालाई त्यतिमा काम गर्दिन भनेर फर्किएको उनले बयानमा बताएका छन् । दावा छिरिङ र आगो भन्ने चिनियाँ नागरिक पुल्चोक जान हिँडेको उनले बताएका छन् । ‘त्यसको भोलिपल्ट दावालाई राजश्व अनुसन्धान विभागले पक्राउ गरेपश्चात डरले म भारततिर गएको थिएँ’, उनले भनेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई भारतमा पक्राउ गरेर नेपाल ल्याएको थियो । बस्नेतलाई प्रहरीले दावाको मुख्य सहयोगी भनेको छ । बस्नेतले ठमेलको एक क्याफेमा कफी खाएर बसेका बेला दावा छिरिङका भाइ गम्बु र आगो भनिने चिनियाँ नागरिकबीच भएको कुराकानी पनि सुनेको बताएका छन् ।

‘म चिनियाँ भाषा अलिअलि बुझ्ने र बोल्न सक्ने भएका थाहा पाएको हुँ, उनीहरुले गाडीमा ल्याएको डिटरजेन्ट सुन सफा गर्न प्रयोग हुने बताएका थिए’, उनले भनेका छन् । प्रहरीका अनुसार, उनको मोबाइलमा सुनका विस्कुटहरुको फोटो समेत फेला परेको थियो । तर, बस्नेतले ती फोटोहरु गुगलबाट डाउनलोड गरेको दाबी गरेका छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖