एजेन्सी – पूर्ण रियल म्याड्रिड खेलाडी सर्जियो रामोसको आत्मघाती गोलमा स्पेनिस ला लिगामा बार्सिलोनाले सेभिल्लालाई १-० ले पराजित गरेको छ।
बार्सिलोना स्थित ओलम्पिक स्टेडियममा गए राती भएको खेलमा एक मात्र गोल रामोसको आत्मघाती गोल रहेको थियो । लामिन यामालको क्रसलाई रोक्ने क्रममा रामोसले बललाई आफ्नै गोलपोस्टमा धकेलेका थिए ।
मंगलबार मल्लोर्का सँग बराबरीमा रोकिएको बार्सिलोनाले सेभिलला सँग भने सुधारिएको प्रदर्शन गरेको थियो। धेरै अवसर हरु सृजना गरेपनि बार्सिलोनाले गोल भने गर्न सकेको थिएन । तर खेलको ७६औं मिनेटमा आत्मघाती गोल उपहार पाएसँगै बार्सिलोना तालिकाको शीर्ष स्थानमा समेत उक्लिएको छ।
बार्सिलोनाको ८ खेलमा ६ जित र २ बराबरी सहित २० अंक छ। १ खेल कम खेलेको जिरोना र रियल म्याड्रिडको क्रमश १९ र १८ अंक छ। दोस्रो र तेस्रो स्थानमा रहेका यी दुई टोली शनिबार राति १०:१५ बजे एक अर्का सँग भिड्दै छन्। यो खेलको विजयी टोली बार्सिलोनालाई उछिन्दै शीर्ष स्थानमा उक्लिने छ ॥
