• Tuesday 6th of October 2026

नेपाली क्रिकेट टिमलाई क्यानले ५० लाख दिने


  • धनकुटा खबर
  • .

नेपाल क्रिकेट संघ (क्यान) ले २०२४ मा वेष्ट इन्डिज र अमेरिकामा संचालन हुने आइसिसी टी-२० क्रिकेट विश्वकपमा छनोट हुन सफल राष्ट्रिय क्रिकेट टोलीलाई ५० लाख नगद पुरस्कारबाट सम्मानित गर्ने निर्णय गरेको छ।

क्यानको बोर्ड बैठकले खेलाडीको सम्मानका लागि पुरस्कार दिने निर्णय गरेको हो। यसअघि नेपालले एसिया छनोटको सेमिफाइनलमा युएईलाई हराएर विश्वकपमा स्थान बनाएको थियो। कात्तिक २० गते सम्पन्न केन्द्रीय कार्य समिती बैठकले देहाय बमोजिमका निर्णयहरू गरेको छ।

यस्तै मलेशियामा सम्पन्न एसिसी यु-१९ प्रिमियर कपमा विजयी भई यही जनवरी २०२४ मा संचालन हुने एसिया कपमा छनौट हुन सफल यु १९ राष्ट्रिय क्रिकेट टोलीका सम्पूर्ण सदस्यहरूलाई प्रोत्साहन स्वरूप जनही ५० हजार रुपैयाँका दरले नगद पुरस्कार उपलब्ध गराउने निर्णय पनि क्यानले गरेको छ।

क्रिकेट हङकङको आयोजनामा यही नोभेम्बर १५ देखि १९ सम्म ४ राष्ट्रहरूका महिला क्रिकेट टिमहरूबीच संचालन हुने टी-२० सिरिजमा सहभागिताका लागि निमन्त्रणा प्राप्त भएको र हुँदा उक्त प्रतियोगितामा राष्ट्रिय महिला क्रिकेट टोलीलाई सहभागी हुन पठाउने निर्णय भएको छ।

टी-२० विश्वकप छनोटको नेपाल र ओमानबीचको प्रतियोगिताको फाइनल खेलमा बिक्री भएको टिकटबाट संकलित कुल रकमको ५० प्रतिशतले हुन आउने रकम हालै जाजरकोटमा गएको भुकम्पबाट पिडितहरुको उद्धारको लागि सहयोग स्वरुप उपलब्ध गराउने निर्णय पनि क्यानले गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖