• Monday 5th of October 2026

हलिउड प्रोफेसनल एसोसिएसन अवार्डको जुरीमा भरत


  • धनकुटा खबर
  • .

काठमाडौं। फिल्म सम्पादक भरतमणि रेग्मीले अमेरिकाको क्यालिफोर्नियास्थित लसएन्जल्समा गत नोभेम्बर २८ मा भएको ‘हलिउड प्रोफेसनल एसोसिएसन अवार्ड २०२३ मा जुरीको भूमिकामा काम गरेका छन्।

हलिउडको क्रियटिभ पोस्ट ईन्डस्ट्रियल सस्था द हलिउड प्रोफेसनल एसोसिएन (एचपिए) ले हरेक वर्ष आयोजना गर्ने यो अवार्ड यस वर्ष लसएन्जल्सको उत्तरी हलिउडको द टेलिभिजन एकेडेमी वल्फ थिएटरमा सम्पन्न भएको थियो। जहाँ भरतमणिले सम्पादन विधामा निर्णायकको भूमिका निर्वाह गरेका थिए।

वार्षिक रूपमा आयोजना हुने यो प्रतिष्ठित अवार्डमा थिएट्रिकल र नन थिएट्रिकल अन्तर्गत विशेषत प्राविधिक विधामा अवार्ड प्रदान गरिन्छ। जसमा कलर ग्रेडिङ, सम्पादन, ध्वनि, भिजुअल इफेक्टहरू पर्छन् र हरेक वर्ष उच्च श्रेणीका क्रियटिभ प्राविधिकहरुलाई अवार्ड दिइन्छ। भरत नन थिएट्रिकल फिचर र डकुमेन्ट्री अन्तर्गतको आउस्टेण्डिङ इडिटिङ विधाको जुरी थिए।

यस वर्ष पनि हलिउडबाट निर्माण हुने फिचर फिल्मका साथै नेटफिलिक्स, एचबिव, एपल टिभि प्लस, म्याक्स टिभीलगायतका थिएट्रिकल र नन थिएट्रिकल फिल्म, टेलिभिजन शो, वृत्तचित्र, सिरिजहरुका क्रियटिभ प्राविधिकहरुलाई अवार्ड दिइयो।

यस वर्ष ‘उत्कृष्ट सम्पादन डकुमेन्ट्री’ अन्तर्गत डकुमेन्ट्री ‘मोनाग डेड्रिम’ का लागि निर्देशक तथा सम्पादक ‘ब्रेट मोर्गन’ ले अवार्ड पाए। ‘उत्कृष्ट सम्पादन नन-थिएट्रिकल अन्डर ३० मिनेट अन्तर्गत डार्क कमेडी क्राइम टेलिभिजन सेरिज ‘बैरी – अ नाईस मिल’बाट सम्पादक अली ग्रीरले अवार्ड पाए।

‘उत्कृष्ट सम्पादन नन-थिएट्रिकल ओभर ३० मिनेट अन्तर्गत ‘द ह्वाईट लोटस-एरिभेडेरिक’बाट सम्पादक जोन एम. भ्यालेरियोले अवार्ड पाए। थिएट्रिकलतर्फ रङ ग्रेडिङ विधामा ‘ओपेनहाइमर’ फिल्मका लागि फोटोकेम पोष्ट प्रोडक्सन हाउसका कलरिष्ट कोस्टास थिओडोसियो र क्रिस्टन जिम्मरम्यानले अवार्ड पाए भने फिल्म सम्पादनमा सम्पादक जेनिफर लेमले अवार्ड पाए।

भिजुअल इफेक्टमा फिल्म ‘अवतारः द वे अफ वाटर’बाट ‘सर्वोत्कृष्ट भिजुअल इफेक्ट’ श्रेणीमा भिजुअल इफेक्ट आर्टिष्टहरु क्रिस एजेन, निक एपस्टेन, वेन स्टेबल्स, पवानी राव बोड्डापति, वेटा एफएक्सका र सर्गेई नेभ्सुपोभले अवार्ड पाए।

‘उत्कृष्ट कलर ग्रेडिङ’का लागि ‘स्पाइडर-म्यानः एक्रोस द स्पाइडर-भर्स’बाट पिक्चर शप पोस्ट प्रोडक्सन कम्पनीका कलरिष्ट नताशा लियोनेट, ‘हाउस अफ द ड्रयागन’बाट सोनी पिक्चर्स इन्टरटेनमेन्टको पोस्ट प्रोडक्सन कम्पनी पिक्सोमोन्डो र ‘द गडफादर’ बाट प्यारामाउन्ट पिक्चर्सले अवार्ड पाए।

अवार्ड आयोजकसँग अमेरिकन सिनेमा एडिटर्स, अमेरिकन सोसाइटी अफ सिनेमाटोग्राफर्स र सिनेमा अडियो सोसाइटीले सहकार्य गरेका थिए। भरतका अनुसार आयोजकले उनलाई जुरीका लागि सम्पर्क गरेका थिए।

‘मेरो प्रोजेक्ट, डकुमेन्टेसन सेलेक्सन पछि यो अवसर पाएँ । हामी जुरीले सहभागी सबै फिल्म हेरेर रिभ्युको सबै प्रक्रिया पुरा गरेर पठाएका थियौं। जुरीहरुको सबै रिभ्यु संकलन पस्चात आयोजकले अवार्ड प्रदान गरेका थिए’, भरतले भने।

स्क्रिन उद्योगमा स्क्रिन राइटर्स गिल्ड र स्क्रिन एक्टर्स गिल्डको लामो आन्दोलनका कारण धेरै मानिसहरूले आफ्नो जीविकोपार्जन गुमाए र व्यवसायीहरूले आफ्ना व्यवसायहरू बन्द गरे।

उद्योगका प्रोफेसनलहरुले बाँच्नको लागि ठूलो दुख खप्नुपर्ने अवस्था बन्यो। लामो आन्दोलनको अन्त्य पछि भर्खर लयमा फर्किन लागेको स्क्रिन उद्योगलाई यसले ठुलो हौसलाको काम गरेको थियो।

त्यस उद्देश्यका लागि अवार्डमा द हलिउड प्रोफेसनल एसोसिएन (एचपिए) ले निर्माण गरेको ‘पोस्ट प्रोडक्सन समुदायका धैर्यशिल सदस्यहरूलाई हार्दिक सलाम’ भनी वर्णन गरिएको छोटो फिल्मको प्रदशन गरिएको थियो।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖