• Thursday 8th of October 2026

अष्ट्रेलियामा क्रिकेटर कुशल सम्मानित


  • धनकुटा खबर
  • .

राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले आफु क्रिकेटमा नलागेको भए अष्ट्रेलियामा विधार्थी हुने सोचमा रहेको बताएका छन् ।

व्यवसायिक क्रिकेट खेल्न अष्ट्रेलिया आएको मौका पारेर एनआरएनए (एनएसडब्लु) राज्य समिति र असल्यान्डले संयुक्त रुपमा शनिबार आफ्नो लागि राखिएको सम्मान कार्यक्रममा कुशलले यस्तो भनेका हुन् ।

सिड्नीमा आयोजना गरिएको कार्यक्रममा कुशललाई नगद सहित सम्मान गरिएको हो । खेलाडी पलायनको विषयमा सोधिएको प्रश्नमा कुशलले भने , ‘अब क्रिकेट खेलेर जीवनयापन गर्न सक्ने दिन आइसकेको छ । हिजोको दिनमा अष्ट्रेलिया आउने मेरो सोच पनि थियो । तर अहिले क्रिकेटले जीवनमा फरक मोडमा ल्याइदिएको छ ।’

कुशललाई सिड्नीमा स्वागत गर्दै एनआरएनए उपाध्यक्ष तथा एनएसडब्लु राज्य समितिका संयोजक विनोद कुँवरले देशलाई विश्वमाझ चिनाउने खेलाडीलाई सम्मान र स्वागत गर्न पाउनु गर्वको विषय भएको बताए । ‘आफ्नो खेल कौशलको माध्यमबाट नेपाललाई विश्वकपमा पु¥याउन महत्वपूर्ण योगदान दिएका कुशललाई सम्मान गर्न पाउनु गर्वको विषय हो’, उनले भने, ’कुनै पनि खेलाडीलाई हामीले गर्ने यस्ता सहयोगले देशको लागि खेल्न अझै उर्जा मिल्ने आशा गरेको छु ।’

यसअघि अभिनाष बोहोरालाई पनि सम्मान गरिसकेको एनआरएनए एनएलडब्लुले खेलाडीलाई धेर थोर सहयोग पनि होस् भनेर आफूहरूले सम्मान गर्ने गरेको स्मरण गर्दै कुँवरले सिड्नी आउने हरेक राष्ट्रिय खेलाडीलाई जहिले पनि सम्मान गर्ने घोषणासमेत गरे ।

रूपन्देहीको तिलोत्तमा नगरपालिका १७ मा क्रिकेट रंगशाला निर्माण गरिरेको एक्ट्राटेक ओभलका निर्देशक कुँवरले फागुन भित्रमा मैदानमा खेल्न मिल्ने गरि निर्माण कार्यअघि बढिरहेको बताए । उनले आफू नेपाल र नेपाली क्रिकेटमा अत्यन्त नजिक रहेको भन्दै विश्वकपमा नेपाली खेलाडीको हौसलाका लागि अमेरिकासमेत जाने योजना रहेको सुनाए ।

कुँवरले कुनै पनि राष्ट्रिय खेलाडीलाई जीवन चलाउनका लागि देश छोड्नु नपरोस् भनेर आफूले त्यसका लागि सकेको सहयोग गर्ने वाचासमेत गरे । ’खेलाडीले गरेको मेहनत र कामलाई सधै साथ र सहयोग गर्नेछु, उनले थपे, ‘आर्थिक अभावमा अब कुनै पनि नेपाली खेलाडीले विदेशीनु नपरोस् भनेर म लागि परेको छु ।’

यस्तै कार्यक्रममा एनआरएनए ओसेनिया क्षेत्रका संयोजक दिनेश पोखरेलले नेपाली क्रिकेटको सफलतामा समस्त नेपालीहरू खुसी भएको भन्दै खेलाडीको बृद्धी विकासका लागि आफूहरूले सकेको सहयोग गर्ने बताए । नेपाली क्रिकेटलाई टि २० विश्वकपसम्म पु¥याउन महत्वपूर्ण भूमिका निभाउने कुशललाई स्वागत गर्दै उनले नेपाली क्रिकेट टोलीको पछिल्लो सफलतामा समस्त प्रवासी नेपाली हर्षित रहेको भन्दै आगामी दिनमा ठूला प्रतियोगितामा जित सफलता मिलोस् भनेर शुभकामना दिए ।

यस्तै रूपन्देही सामाजिक सञ्जाल अष्ट्रेलियाका अध्यक्ष दिवाकर काफ्लेले आफ्ना जिल्लाबासी क्रिकेटर कुशल के कसरी सहयोग गर्न सकिन्छ त्यसका लागि आफूहरू सधै तयार रहेको समेत बताए । कार्यक्रममा चलचित्र निर्माता अर्जुन कुमार , ग्रानभिल नेपाली समाजका सचिव प्रकाश भट्टराई , तास्मानिया नेपाली समाजका तोया भट्टराई लगायतले नेपाली क्रिकेटको विषयमा जीज्ञासा राखेका थिए।

रूपन्देहीकै स्थानीय कुशलले आफ्नै ठाउँमा अन्तर्राष्ट्रिय स्तरको मैदान बन्न लागेकोमा खुसी व्यक्त गरे । ’मलाई विश्वास छ कि एक्ट्रा टेकमा हाम्रो गेम भयो भने पहिलो सेन्चुरी मै हान्नेछु’, उनले भने, ’चाँडो भन्दा चाँडो मैदान पूरा भएर खेल्न पाउँ।’ पछिल्लो समय नेपाली क्रिकेटको सफलताबाट प्रेरित भएर अभिभावकहरू पनि आफ्ना बालबच्चालाई क्रिकेट खेल्न प्रेरित गरिरहेको भन्दै उनले नेपाली क्रिकेटको भविष्य उज्वल रहेको र अब पछाडि फर्केर हेर्ने अवस्था नरहेको बताए।

अस्ट्रेलियाको भिक्टोरिया राज्यको फ्रान्कस्टोन पेनिन्सुला क्रिकेट क्लबमा आबद्ध भएर क्रिकेट खेल्न कुशल अस्ट्रेलिया आएका हुन् । करिब २ महिना अस्ट्रेलिया बसाईमा उनले अनुभव बटुल्नुका साथै क्लबबाट खेल्दा आफ्नो खेल कौशल अझ बलियो हुने आशा राखे । उनले जनवरीको अन्त्यसम्म क्लबबाट खेल्नेछन् । त्यसपछि उनी राष्ट्रिय टोलीको तयारीमा जुट्न स्वदेश फर्कनेछन् ।

फ्रान्कस्टोन अस्ट्रेलियाको भिक्टोरिया राज्यको शीर्ष क्लब मध्ये एक हो। क्लबले भिक्टोरियाको शीर्ष प्रतियोगिता खेलिरहेको छ । यही क्लबबाट अस्ट्रेलियाका टेस्ट क्रिकेटर स्कट बोलान्डको ’होम क्लब’ हो। क्लबमा रहदा कुशलले एकदिवसीय र टी–२० खेलमा सहभागिता जनाउनेछन् । क्लबले भिक्टोरिया प्रिमियर क्रिकेटअन्तर्गतका विभिन्न राज्यस्तरीय प्रतियोगिता खेलिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖