काठमाडौं । बार्सिलोनाका पूर्वखेलाडी तथा ब्राजिलियन फुटबलर ड्यानी आल्भेस बलात्कार मुद्दामा दोषी ठहर भएका छन् । स्पेनको अदालतले आल्भेसलाई दोषी ठहर गरेको हो ।
बार्सिलोनाको एक नाइट क्लबमा एक महिलामाथि बलात्कार गरेको आरोपमा अदालतले आल्भेसलाई दोषी ठहर गर्दै साढे चार वर्षको जेल सजाय सुनाएको हो । विश्व फुटबलकै सबैभन्दा धेरै उपाधि जित्ने खेलाडीमध्येका एक आल्भेसमाथि सन् २०२२ को डिसेम्बर ३१ मा बलात्कारको आरोपसहित एक महिलाले उजुरी दर्ता गराएकी थिइन्।
आल्भेसमाथि स्पेनको एक नाइटक्लबको भीआईपी सेक्सनको शौचालयमा महिलामाथि बलात्कार गरेको आरोप लागेको थियो । आल्भेसले महिलाको ‘अनिच्छा भए तत्काल प्रतिरोध गर्न सक्ने’ तर्क गरे पनि अदालतले महिलाको सहमति नभएको फैसला सुनाएको हो । एक विज्ञप्ति जारी गर्दै अदालतले पीडितको बयानबाहेक अन्य प्रमाणहरूले पनि आल्भेसलाई बलात्कारी प्रमाणित गर्ने जनाएको छ ।
