काठमाडौं – ललितपुरको ढोलाहिटीमा भएको ग्याङ फाइटको रहस्य खुलेको छ । दुई जनाको हत्या हुनेगरी भएको घटनाको मुख्य कारण अत्यधिक मदिरा सेवन र पुरानो रिसिइबी भएको अनुसन्धान पछि खुलेको छ ।
ललितपुर महानगरपालिका २६ ढोलाहिटीमा आइतबार राति ग्याङ फाइट हुँदा दुई जनाको हत्या भएको थियो। प्रहरीका अनुसार ग्याङ फाइटमा पाँचथर घर भई खुमलटार बस्ने पुजन राई र धरान घर भई ढोलाहिटी बस्ने रोबस राईको मृत्यु भएको छ।
उनीहरूलाई करिब राति ११ बजेतिर अस्पताल पुर्याइएको थियो। त्यसपछि मात्रै घटनाबारे अस्पतालले प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शेखर खनालले जानकारी दिए। ‘घटनाबारे हामीलाई अस्पतालले जानकारी गराएपछि मात्रै खुल्यो,’ उनले भने।
उनका अनुसार घटनामा संलग्नहरूको खोजीका लागि त्यही राति प्रहरी परिचालन भएको थियो। प्रहरीले सिसिटिभी फुटेजहरू केलाएर १८ जनालाई नियन्त्रणमा लिइसकेको छ। सिसीटिभी उक्त घटनामा छुरी प्रहार हुँदा पूजन र रोबसको मृत्यु भएको हो। छुरा प्रहारबाट एक जनाको तिघ्रा र एक जनाको छातीमा चोट देखिएको प्रहरीले जनाएको छ।
अहिले उक्त छुरी पनि प्रहरीले बरामद गरेको छ। अहिले दुवै मृतकको शव पाटन अस्पतालमा राखिएको छ। यस्तै घटनामा संलग्न व्यक्तिहरू मदिराले लट्ठिएको अवस्थामा पक्राउ परेको एसएसपी खनालले बताए।
‘हामीले हिजो मान्छे ल्याउँदा अत्यधिक मापसेका कारण सोधपुछ गर्न सकेनौं। आज बिहानबाट सोधपुछ भइरहेको छ,’ उनले भने। मापसे गरेका दुई ग्याङबीच पुरानो रिसिइबी रहेको प्रहरी स्रोत बताउँछ। यसबारे पनि थप सोधपुछ भइरहेको प्रहरीको उच्च स्रोतले जानकारी दिएको छ।-मोटिभेट न्यूज
