• Saturday 17th of October 2026

आरजु राणालाई भएको हाइपर प्याराथाइरोएडिजम के हो?


  • धनकुटा खबर
  • .

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाको भारतको नयाँदिल्लीको साकेतस्थित म्याक्स अस्पतालमा उपचार भइरहेको छ।
आरजुको बुधबार हाइपर प्याराथाइरोएडिजमको शल्यक्रिया गरिएको उनका स्वकीय सचिव कमल रावलले बताए।

गत चैत २ गते आरजु नयाँदिल्ली गएकी थिइन्। दुई वर्षदेखि उनले नयाँ दिल्लीका अस्पतालमा फलोअप गरिरहेकी थिइन्।
आरजुको स्वास्थ्य सुधारोन्मुख रहेको र केही समय अस्पतालमै रहने उनको सचिवालयले जनाएको छ।

के हो हाइपर प्याराथाइरोएडिजम?
जोन्स हप्किन्स विश्व विद्यालयका अनुसार हाइपर प्याराथाइरोएडिजम भनेको घाँटीमा रहेको प्याराथाइरोएड ग्रन्थी अत्यधिक सक्रिय हुनु हो। थाइरोएड ग्रन्थीको छेवैमा चामलको गेडा जत्रो आकारका चार प्याराथाइरोएड ग्रन्थीहरू हुन्छन्।

ती चारमध्ये कुनै वा सबै ग्रन्थीहरू अत्यधिक सक्रिय भए भने बढी प्याराथाइरोएड हर्मोन बनाउँछन्। यसरी शरीरमा बढी प्याराथाइरोएड हर्मोन हुने रोगलाई हाइपर प्याराथाइरोएडिजम भनिन्छ।

प्याराथाइरोएड हर्मोनले चाहिएको बेलामा रगतमा क्याल्सियमको मात्रा बढाउँछ। हाइपर प्याराथाइरोएडिजम भयो भने जतिबेलै पनि रगतमा क्याल्सियम चाहियो भनेर शरीरले हड्डीबाट क्याल्सियम निकालेर रगतमा पठाउँछ।

यसले शरीरका सबै ठाउँका हड्डी विस्तारै खिइँदै गएर कमजोर हुन्छन् भने रगतमा क्याल्सियम बढी भएर किड्नीमा पत्थर लगायत शरीरमा अरू विभिन्न समस्या देखा पर्छन्।

आरजु राणाको सचिवालयले जारी गरेको विज्ञप्तिले हाइपर प्याराथाइरोएडिजमको शल्यक्रिया गरिएको बाहेक अरू केही नखुलाएकाले यी समस्याका कारण आरजुको शल्यक्रिया गरिएको बुझ्नु पर्नेहुन्छ।
प्याराथाइरोएड डटकमका अनुसार यो शल्यक्रिया गर्दा समस्या देखिएका एक वा बढी प्याराथाइरोएड ग्रन्थी झिकेर फ्याँकिन्छ।

नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालको पनि २०७५ साउनमा चीनमा यस्तो शल्यक्रिया गरिएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖