• Tuesday 20th of October 2026

मिसन ८१ मै राज्य शक्तिलाई घुँडा टेकाउने लिङ्देनको चेतावनी


  • धनकुटा खबर
  • .

काठमाडौं, १९ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले शिक्षा, स्वास्थ्य र रोजगार जनताका अधिकार बन्नुपर्ने बताएका छन् । राप्रपा मोरङद्वारा आज विराटनगरको महेन्द्र चोकमा आयोजित ‘जनजागरण सभा’ लाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

अध्यक्ष लिङ्देनले अवस्था बदल्न, व्यवस्था बदल्नका लागि सरकारलाई ४० बुँदे मागपत्र बुझाएको स्मरण गराउँदै देशमा जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री बन्नुपर्ने धारणा राखे । उनले मुलुकको अर्थव्यवस्थालाई बलियो बनाउन सङ्घीयता खारेज गरी केन्द्रीय र स्थानीय तहको राज्य संरचना हुनुपर्ने भन्दै राष्ट्रिय एकतालाई बलियो बनाउन नेपालमा हिन्दू राष्ट्र कायम हुनुपर्नेमा जोड दिए ।

उनले राष्ट्रको अभिभावकको रुपमा राजालाई स्थापित गर्न र व्यवस्था बदल्न राप्रपासँग नयाँ सम्झौता गर्नुपर्ने भन्दै अटेर गर्ने र देश र जनतालाई बन्धक बनाउने कार्य राप्रपाका लागि सह्य नहुने बताए । अध्यक्ष लिङ्देनले अन्य दलले निर्वाचनको सन्दर्भमा मिसन ८४ भनिरहेको अवस्थामा राप्रपा मिसन ८१ मै राज्य शक्तिलाई घुँडा टेकाउन आगामी चैत २७ गते काठमाडौँमा विशाल सभा गर्न लागेको जानकारी गराउँदै अहिले सत्ता साझेदारी र सत्ता स्वार्थका निम्ति देश बन्धक बनेको बताए ।

राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले देश बनाउन राजा र राजनीतिक दल मिल्नुपर्ने बिपी विचारमा सबै राजनीतिक दल हिँड्नुपर्ने सुझाव दिँदै राजनीतिक दलका राष्ट्रिय हितका नीतिगत एजेण्डा लागू गराउन इमान्दार बन्नुपर्ने बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖