काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले कर्णाली प्रदेश सरकार निर्माणमा एमाले उम्मेदवारलाई समर्थन गर्न निर्देशन दिएका छन् । मुख्यमन्त्री राजकुमार शर्माले मंगलबार विश्वासको मत लिने तयारी गरिरहेका बेला एमाले उम्मेदवारलाई समर्थन गर्न निर्देशन दिएका हुन् ।
फाइल तस्बिर स् कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मा र माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल । स्रोतका अनुसार उनले माओवादी कर्णाली इञ्चार्ज कालीबहादुर मल्ललाई टेलिफोन गरी गठबन्धनमा भएको सहमतिअनुसार मुख्यमन्त्रीका एमाले उम्मेदवारलाई सहयोग र समर्थन गर्न निर्देशन दिएका हुन् ।
मुख्यमन्त्री शर्माले मंगलबार विश्वासको मत लिने तयारी गरेका थिए । ‘प्रधानमन्त्रीले मुख्यमन्त्रीका लागि एमालेलाई समर्थन गर्न निर्देशन दिनुभएको छ,’ स्रोतले भन्यो, ‘मंगलबार बिहानसम्म कर्णाली समितिले औपचारिक निर्णय गर्छ होला ।’ उपमहासचिव जनार्दन शर्माले कर्णालीमा माओवादीकै मुख्यमन्त्रीको निरन्तरता हुनुपर्ने भन्दै आपत्ति जनाइसकेका छन् ।
कर्णाली प्रदेशसभामा ४० सांसद छन् । सरकार जोगाउन मुख्यमन्त्री शर्मालाई एमालेका १० सांसद भए बहुमत पुग्छ । तर एमालेले सरकारको नेतृत्व लिने तयारी गरेको छ । प्रदेशसभामा कांग्रेसका १४, राप्रपाका १, एसका १ र स्वतन्त्रका १ सांसद छन् ।
