काठमाडौं, २४ चैत । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रको पुरानो गौरव फर्काउनका लागि जुट्न अपिल गरेका छन् । आज (शनिबार) जुम्लामा आयोजित सभालाई सम्बोधन गर्दै उनले राष्ट्रको पुरानो गौरव फर्काएर आफ्नै पाखुराको बलमा अघि बढ्नेगरी कम्मर कस्न आग्रह गरे । उनले अपार सम्पदा हुँदाहुँदै पनि देश परनिर्भरतातिर गइरहेको भन्दै चिन्ता व्यक्त गरे । ‘अब हामी राष्ट्रको पुरानो गौरव फर्काउनका लागि जुटौँ, देश बनाउनका लागि उठौँ र हामी हाम्रै पाखुराको बलमा अघि बढ्न कम्मर कसौं,’– सम्बोधनका क्रममा उनले भने ।
साथै, उनले अब सुध्रिएर राष्ट्रिय सोचसहित नयाँ समझदारी र संवादका लागि आह्वान गरे । सर्वपक्षीय नयाँ सम्मेलन र नयाँ समझदारीका साथ निश्कर्ष निकालौं भन्ने भावना जनमानसमा बढ्दै गइरहेको उनको दाबी छ । ‘अब सुध्रौँ, अब चेतौँ र सबैले सबैलाई सम्झेर राष्ट्रिय सोच बनाऊँ, मार्ग सुधार गरौँ, नयाँ समझदारी, नयाँ संवाद, नयाँ वार्तालाप, सर्वपक्षीय नयाँ सम्मेलन र नयाँ सम्झौताको निष्कर्ष निकालौँ भन्ने जनमत बढ्दै गइरहेको हाम्रो अनुभव छ,’– उनले भने ।
जुम्ला पुगेका पूर्वराजा ज्ञानेन्द्रको स्वागतमा ठूलो भीड लागेको थियो । ज्ञानेन्द्र त्यहाँ पुग्दा उनका समर्थकहरुले विभिन्न नाराबाजीसहित ज्ञानेन्द्रको भव्य स्वागत गरेका थिए ।
