• Wednesday 21st of October 2026

शक्तिशालीले गरेको किर्ते पनि किर्ते नै हुन्छ :गगन


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले भ्रष्टाचार नयाँ वा पुरानो राजनीतिक दलले गरेको भन्ने नहुने बताएका हुन् । शनिवार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचार नयाँ वा पुरानो भनेर छुट नहुने बताएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी लक्षित टिप्पणी गर्दै थापाले कानुनको शासन भन्दा माथि कोही पनि नहुने जिकिर गरे । उनले प्रश्नभन्दा माथि कोही पनि नरहेको बताए । उनले प्रश्न भन्दा माथि कोही पनि नेता नरहेको बताए ।

सर्वसाधारणले गरेको ठगी ठगी भएको जस्तै शक्तिशालीले गरेको ठगी पनि ठगी नै हुने भएकाले शक्तिशालीलाई छुट दिन नहुने उनको भनाई थियो । उनले सर्वसाधारणले गरेको कुनै किर्ते किर्ते नै हुने भएकाले शक्तिशालीको गरेको किर्ते पनि किर्ते नै हुने बताए ।

उनले भने, ‘कानुनको शासनको लागि हामी उभिन्छौँ भन्नुको अर्थ प्रश्न भन्दा माथि कोही छैन । प्रश्न भन्दा माथि कोही शक्तिशाली पनि छैन । प्रश्न भन्दा माथि कुनै नेता छैन । प्रश्न भन्दा माथि नयाँ नेता पनि छैन, पुराना नेता पनि छैनन् । कोही पनि प्रश्न भन्दा माथि छैनन् । कोही पनि कानुन भन्दा माथि छैन । यदि एउटा सर्वसाधारणले गरेको कुनै काम ठगी ठगी हो भने शक्तिशालीले गरेको पनि ठगी ठगी नै हो । यदि सर्वसाधारणले गरेको कुनै काम किर्ते किर्ते हुन्छ भने शक्तिशालीले गरेको किर्ते पनि किर्ते नै हुन्छ । एउटा सामान्य मान्छेले वडामा गएर सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्छ भने त्यसले मन्त्री भएर यदि सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्छ भने त्यो भ्रष्टाचार नै हुन्छ । भ्रष्टाचार काँग्रेसले गरे पनि भ्रष्टाचार हुन्छ, एमालेले गरे पनि भ्रष्टाचार नै हुन्छ, माओवादीले गरे पनि भ्रष्टाचार नै हुन्छ,नयाँ पार्टीले गरेको भ्रष्टाचार पनि भ्रष्टाचार नै हुन्छ ।’

महामन्त्री थापाले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै काँग्रेसले देशको उद्योग धन्दा बेचेर खाएको आरोप लगाएको भन्दै कम्युनिस्ट सरकारले अहिले एउटा उद्योग खोलेर देखाउन चुनौती दिए । उनले अहिले प्रधानमन्त्री, अर्थमन्त्री कम्युनिस्ट पार्टीकै भएकाले नयाँ उद्योग खोलेर देखाउन आग्रह गरे ।

उनले भने, ‘एउटा कम्युनिस्ट पार्टीको नेता, पूर्वप्रधानमन्त्रीले बेला बेलामा उभिएर के भनिदिनुहुन्छ भने काँग्रेसले उद्योग धन्दा बेचेर खायो भनिदिनुहुन्छ । ल अहिले कम्युनिस्ट पार्टीको सरकार छ । प्रधानमन्त्री पुष्पकमल दाहाल हुनुहुन्छ, अहिलेको गठबन्धनको सर्वोच्च नेता केपी शर्मा ओली हुनुहुन्छ । अर्थमन्त्री वर्षमान पुन हुनुहुन्छ, सबै कम्युनिस्ट पार्टीको सरकार छ । काँग्रेसलाई पटक पटक उद्योग कलकारखाना बेचेको आरोप लगाएको होइन, ल यसपालि बजेट तपाईँहरूले बनाउने, यसपालिको बजेटमा म सरकारलाई यहीँबाट सरकारसँग माग राख्छु, यो पटकको बजेटमा काँग्रेसले बेचेर खाएको हुनाले गर्दा तपाईँले यो पटक खोल्नुस् ल । नेपाल कम्युनिस्ट पार्टीले सञ्चालन गरेको सरकारले चुरोट कारखाना खोलोस् । जुत्ता, रक्सी, सिमेन्ट, कपडा खोल्नुस्, एउटा खोलेर देखाओस् ल । तपाईँहरूको हातमा डाडुपन्यू छ खोल्नुस् । उहाँहरूले खोल्नुहुन्न, उहाँहरूलाई थाहा छ, सरकारले चुरोट, रक्सी बनाउने होइन रहेछ ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖