विराटनगर । कोसी प्रदेशमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले सरकार बनाउनेबारे प्रदेश प्रमुखलाई जानकारी गराउन लागेका छन् । उनीहरूले बहुमतसहित प्रदेश प्रमुखसमक्ष दाबी गरेपछि प्रदेशसभा बैठक आह्वानका निम्ति समावेदन गर्ने भएका छन् ।
माओवादी केन्द्रका तर्फबाट मन्त्री बनेकाहरूले आजै राजीनामा दिएर फिर्ता हुने सहमति पनि दुई पार्टीबीच भएको छ ।
“माओवादीबाट सहभागी मन्त्रीहरूले आजै राजीनामा दिएर सरकारबाट फिर्ता हुने निर्णय भएको छ,” सोमबार बसेको माओवादी संसदीय दलको बैठकपछि नेता इन्द्र आङ्बोले भने, “यो सरकार एमालेको समर्थनमा बनेको हुँदा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने, एमालेले मात्र समर्थन फिर्ता लिँदा सरकार बहुमतमा हुने भएकाले माओवादीले पनि समर्थन फिर्ता लिने निर्णय भएको छ ।”
नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)लाई पनि समर्थन फिर्ता लिन लगाएर आफूहरूको गठबन्धनमा आबद्ध गराउने गरी अघि बढेको उनले जानकारी दिए ।-बाह्रखरी
