• Thursday 22nd of October 2026

गठबन्धन छाड्ने मनस्थितिमा माधव नेपाल


  • धनकुटा खबर
  • .

काठमाडौं। वाम गठबन्धन बनेको साढे एक महिना मात्र भएको छ। तर, केन्द्रदेखि प्रदेश सरकारमा गठबन्धनसँग साथसाथ रहेको एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको तीव्र असन्तुष्टि छ।

नेपालको असन्तुष्टि कतिसम्म रहेछ भने सोमबार एमाले केन्द्रीय कार्यालयमा आयोजित ‘नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान’को कार्यक्रममा नेपालले वर्तमान सत्ता गठन्बन्धनमा आफूलाई सहज नलागेको मात्र बताएनन्, यो सत्ता गठबन्धन कति दिन टिक्ने हो भनेर प्रश्न उठिरहेको बताए। र, एउटै मञ्चमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिनुपर्ने बताए।

धाक, धम्की र गाालीगलौज भइरहेकाले असहज भएको बताएका उनले एमाले अध्यक्ष केपी ओलीप्रति लक्षित टिप्पणी गरे।

सोमबार नै गोदावरीमा भएको नेकपा स्थापनाको हीरक महोत्वसमा नेपाल गएनन्।

एकै दिनका यी दुई घटनाले नै देखाउछ, वाम गठबन्धन कुनै पनि बेला फुट्न सक्छ। र, नेपालको असन्तुष्टि एमाले अध्यक्ष केपी ओलीसँग बढी हो।

केही दिन अघि मात्र ओलीले नेपाल लक्षित टिप्पणी गरेका थिए। ओलीले साइनबोर्ड कम्युनिस्टको राखेर कांग्रेसलाई र दक्षिणपन्थीलाई खुसी बनाउने काम गरेको भन्दै नेपालको आलोचना मात्र गरेनन् खिसिटिउरी नै गरे।

हालै सुदूरपश्चिम प्रदेश सरकारमा ओली र नेपालबीच द्वन्द्व नै भयो। प्रचण्ड र ओलीले एकलौटी गरेर नाउपालाई मुख्यमन्त्री दिने निर्णय गरेपछि नेपाल कांग्रेससँग मिल्न गए। पछि ओली गले।

एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने निर्णय त भयो। उसका उम्मेदवार दीर्घ सोडारीबाहेकलाई मुख्यमन्त्री बनाउनुपर्ने अडान राखेको थियो, एमालेले।

नेपालले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटे। देउवाले सहयोग गर्ने प्रतिवद्धता जनाएपछि झस्किएकाले ओलीले सहमति गरेपछि सोडारी मुख्यमन्त्री बनेका छन्।

एमालेले समर्थन गरेपनि सुदूरपश्चिम सरकारमा गएको छैन। यो विषयमा नेपाल असन्तुष्ट छन्। उनी बरु कांग्रेससँग मिल्नुपर्ने निचोडमा पुगेका छन्।

गृहजिल्ला रौतहट पुगेर नेपालले ‘पार्टीको भूमिकालाई कसैले अवमूल्यन वा बेवास्ता गर्‍यो भने उसले ठूलो मूल्य चुकाउनुपर्ने’ भनेर ओलीलाई चेतावनी दिएका थिए। उनको भनाइ थियो, हाम्रो आफ्नै स्वाभिमान र महत्व छ, त्यसैले यो कुरा बुझ्यो भने ठीक छ, नत्र सबै उल्टिन्छ र देशमा अर्को उथलपुथल हुन्छ।’

गत फागुनमा सुनसरीको इनरुवामा आयोजित पार्टी कार्यकर्ता भेलामा ओलीले माधव नेपालको नाम नलिइ ‘प्रधानमन्त्री हुन्छु भन्दै हिँड्ने कुरा हास्यास्पद रहेको टिप्पणी गरेका थिए। ‘संसदमा राष्ट्रिय मान्यता नपाएको दलका मान्छे कुन बाटोबाट प्रधानमन्त्री हुन्छरु ओलीले भनेका थिए, ‘संविधान, कानुन कता छ, संसदमा के छरु भन्ने थाहा नपाएकाले प्रधानमन्त्री हुन्छु भनेर कराएर हिँड्ने गरेका छन्।’

नेपाल ओली र प्रचण्डसँग रिसाउनुको अर्को कारण हो, राष्ट्रियसभा उपाध्यक्ष पद। नेपालले यो पद आफूहरुले पाउनुपर्ने बताएका थिए। तर, प्रचण्ड र ओलीले सहमति गरेर एमालेबाट निर्वाचित गराएपछि नेपाल तर्किएका हुन्।

अहिलेको गठबन्धनप्रति एकीकृत समाजवादीबाट सकारात्मक रहेका नेता झलनाथ खनाल मात्र हुन्। उपाध्यक्ष राजेन्द्र पाण्डेदेखि नेता मेटमणि चौधरीसम्म असन्तुष्ट छन्।

यही बुझेका प्रचण्ड एकीकृत समाजवादीका नेता झलनाथ खनाललाई फकाउन लागिपरेका छन्। एकीकृत समाजवादीले साथ छाड्दा सरकार ढल्ने देखेपछि प्रचण्डले पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालसँग मंगलबार छलफल गरेका छन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा प्रचण्डले नेपालको असन्तुष्टिबारे कुरा राखेका थिए।र, उनले नेपालसँग समधुर सम्बन्धको वातावरण बनाइदिन पनि आग्रह गरे।

भेटवार्तापछि खनालले सत्ता गठबन्धनलाई अझ सुदृढ बनाउने विषयमा प्रधानमन्त्री प्रचण्डसँग संवाद भएको बताए।

उनको भनाइ छ, ‘अहिले जुन नयाँ समीकरण बेनको छ, यो समीकरणलाई अझै सुदृढ बनाऊँ, बढी आत्मीय बनाऊँ, समीकरणका घटकहरूबीचको सम्बन्धलाई राम्रो बनाऊँ र सबैलाई सम्माजनक ढंगले समानतापूर्ण ढंगले एकताबद्ध बनाएर अगाडि बढाऊँ भन्ने विषयमा छलफल भयो। यसमा हामीहरू यसरी नै दृढतापूर्वक अगाडि बढ्नुपर्छ भन्ने कुराहरू भयो।’

माधव नेपाल अहिले एमालेसँग मिल्नुभन्दा कांग्रेससँग सहज हुने गरेको भनेर निकटका नेताहरुलाई बताउने गरेका छन्। र,उनले कांग्रेसलाई गाली नगर्न र जुनसुकै बेला सहकार्य हुनसक्ने नेताहरुलाई बताइसकेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖