• Thursday 22nd of October 2026

विशिष्ट व्यक्तिलाई उपलब्ध गराइएका सुरक्षाकर्मीहरू बाहेक अन्यलाई फिर्ता बोलाउन गृहको निर्देशन


  • धनकुटा खबर
  • .

काठमाडौँ । गृह मन्त्रालयले विशिष्ट व्यक्तिलाई उपलब्ध गराइएका सुरक्षाकर्मीहरू बाहेक अन्य सुरक्षाकर्मीलाई फिर्ता बोलाउन नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई निर्देशन दिएको छ ।

मन्त्रालयले बिहीबार विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ र अन्य प्रचलित कानुन बमोजिम विशिष्ट व्यक्तिहरूलाई उपलब्ध गराइएका सुरक्षाकर्मीहरू बाहेक अन्य सबै व्यक्तिगत सुरक्षाकर्मी पदाधिकार रहेको कार्यालयमा यथाशीघ्र ९२४ घण्टाभित्र० फिर्ता बोलाई सोको विवरण उपलब्ध गराउन प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी बल प्रधान कार्यालयलाई निर्देशन दिएको हो ।

यस्तै गृहले विशिष्ट व्यक्तिहरूको जिल्ला भ्रमण लगायतका कार्यक्रममा सुरक्षा उपलब्ध गराउँदा कार्यविधिको व्यवस्था पूर्ण पालना गर्न/गराउन र सुरक्षा चुनौती विश्लेषण गरी मन्त्रालयबाट थप निर्देशन भएको अवस्थामा बाहेक कार्यविधि विपरीत अगुवा पछुवा उपलब्ध नगराउन पनि दुवै प्रहरी संगठनलाई निर्देशन दिएको छ ।

मन्त्रालयले यसरी खटिएका सुरक्षाकर्मी फिर्ता नभएमा खटिने सुरक्षाकर्मीको तलब रोक्का गर्न र फिर्ता नगर्ने पदाधिकारीको नाम सार्वजनिक गर्ने प्रयोजनका लागि मन्त्रालयमा विवरण उपलब्ध गराउन समेत निर्देशन दिएको छ।

उपप्रधान एवं गृहमन्त्रीस्तरीय निर्णयपछि मन्त्रालयले यस्तो निर्देशन गरेको हो । ‘एकातिर शान्ति सुरक्षा कायम गर्ने तथा सीमा सुरक्षा पोष्टमा खटिने सुरक्षाकर्मी कमी हुने अर्कातिर विशिष्ट पदाधिकारीले व्यक्तिगत कामका लागि राष्ट्रसेवक प्रयोग गर्ने प्रचलनको अन्त्य आवश्यक छ। त्यसैको सुरुआतका लागि यो निर्णय गरिएको हो’ उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले भने । मन्त्री लामिछानेले विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ लाई समयानुकूल परिमार्जनको गृहकार्य भइरहेको पनि जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖