• Thursday 22nd of October 2026

कोरियन भाषा परीक्षा पास गरेकाले रोस्टर परिवर्तन गर्न पाउने


  • धनकुटा खबर
  • .

काठमाडौं । कोरियन भाषा परीक्षा (ईपीएस टपिक) उत्तीर्ण गरेकाहरूले रोस्टर परिवर्तन गर्न पाउने भएका छन् ।

कृषि तथा पशुपालन र उत्पादनमूलक क्षेत्र तर्फ कोरियन भाषा परीक्षा उत्तीर्ण गरी रोस्टरमा रहेका व्यक्तिहरू ‘सर्भिस सेक्टर’ मा रोस्टर परिवर्तन गर्न पाउने भएका हुन् ।

ललितपुरको ग्वार्कोस्थित ईपीएस कोरिया शाखाले एक सूचना जारी गर्दै एचडीआर सर्भिसबाट प्राप्त पत्र अनुसार २०२४ डिसेम्बर ३१ सम्म रोस्टर अवधि रहेकाहरूले कृषि तथा पशुपालन क्षेत्र र उत्पादनमूलक क्षेत्रबाट सर्भिस सेक्टरका परिवर्तन गर्न पाउने भएको जनाएको छ । यसका लागि २०८१ वैशाख १४ गतेदेखि १८ गतेभित्र आवदेन दिनुपर्ने शाखाले जनाएको छ ।

शाखाका अनुसार वेवसाइटमा राखिएको फारम भरेर आवेदकले राहदानीसहित आवश्यक कागजातहरू eps.sectorchange@gmail.com पठाउनुपर्ने छ ।

मानव संशाधन विकास (एचआरडी) कोरियाले रोस्टर परिवर्तन गर्न सक्नेहरुको नामावलीसहितको तालिका बिहीबार पठाएको ईपीएस कोरिया शाखाले जनाएको छ। शाखाका अनुसार ९ हजार ४२८ जनाको नाम प्राप्त भएको छ।

यदि कसैले पहिले नै रोजगारदाताले करार सम्झौता गरिसकेको वा रोस्टर अवधि समाप्त भइसकेको वा कुनै कारणले अयोग्य भएमा सेवा क्षेत्र परिवर्तन गर्न भने पाइने छैन । सेवा क्षेत्र परिवर्तन गरिए पनि रोस्टरको अवधि भने थप हुने छैन। अघिल्लो रोस्टरको बाँकी अवधि बराबर नै हुने सूचनामा उल्लेख छ।

भाषा परीक्षा पास गरेर कोरिया जान पर्खेर बसेका हजारौं युवाहरुले आफूहरूको समस्या समाधानका लागि पहल गर्न श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डीपी अर्याललाई अनुरोध गरेका थिए। गुनासो प्राप्त भएपछि श्रममन्त्री अर्यालले कोरियाका सम्बन्धित निकायका पदाधिकारीसँग पटकपटक छलफल गरेका थिए। पछिल्लोपटक बुधबारमात्रै मन्त्री अर्यालले एचआरडी कोरिया मुख्यालयका प्रतिनिधि, एचआरडी कोरियाका नेपाल प्रतिनिधि, ईपीएस शाखा र कोरिया रिटर्नी एवं रोस्टरमा रहेकाहरूबीच छलफल गराएका थिए। सो छलफलमा कोरिया पक्षले शीघ्र निकास निकाल्ने प्रतिबद्धता व्यक्त गरेको थियो। त्यसको भोलिपल्ट (बिहीबार) नै कोरिया पक्षले रोस्टर परिवर्तन गर्न सकिने निर्णय गरेको हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖