• Thursday 22nd of October 2026

सन्दीपको पुनरावेदनमा आज सुनुवाइ हुँदै


  • धनकुटा खबर
  • .

काठमाडौँ : बलात्कार मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट दोषी ठहर क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदनमा उच्च अदालत पाटनले आज (आइतबार) सुनुवाइ गर्ने भएको छ। गत सोमबार (वैशाख १० गते) उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र पुरुषोत्तमप्रसाद ढकालको इजलासमा पेसी तोकिए पनि सन्दीपको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको थियो।

सो मुद्दा अब आजका लागि पेसी तोकिएको सन्दीप पक्षका कानुन व्यवसायी अधिवक्ता सरोजकृष्ण घिमिरेले जानकारी दिए। यसअघि वैशाख ३ गते उच्च अदालत पाटनका न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको इजलासले किशोरीले दोस्रोपटक जन्मदर्ता बनाउँदा गाउँपालिकामा दिएको निवेदन माग्न आदेश दिएको थियो।

सुरुको जन्मदर्तामा भन्दा पछिल्लो जन्मदर्तामा एक वर्ष उमेर घटाइएको जिल्ला अदालत काठमाडौँले पनि ठहर गरेको छ। सोही आधारमा जिल्ला अदालतले जाहेरवाली युवती नाबालिग नरहेको ठहर गरेको थियो। जाहेरवालाका तर्फबाट सरकारी वकिल कार्यालयले उनी नाबालिग नै रहेको दाबी गर्दै उच्च अदालतमा निवेदन दिएपछि अदालतले जन्मदर्ता गराउँदा दिएको निवेदन नै झिकाउने आदेश गरेको हो।

जिल्ला अदालतले यो मुद्दामा सन्दीप लामिछानेलाई ८ वर्ष कैदको फैसला गरेपछि त्यो फैसला बदरको माग गर्दै लामिछाने उच्च अदालत पुगेका हुन्। दुवै निवेदनमा उच्च अदालतले एकसाथ सुनुवाइ अगाडि बढाएको हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖