• Saturday 24th of October 2026

ओलीको उद्घोष : कांग्रेसले रोकेर अब संसद् बैठक रोकिँदैन, हामी चलाउँछौं


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सत्ता छाड्नुपरेको पीडामा छटपटाइरहेको आरोप लगाएका छन् । एमाले पर्साको नवौँ जिल्ला अधिवेशनबाट नवनिर्वाचित नेतृत्वको शपथग्रहण कार्यक्रमलाई हिजो (शुक्रबार) वीरगञ्जमा सम्बोधन गर्दै अध्यक्ष ओलीले कांग्रेसले सत्ताबाट हट्नुपरेको पीडा पोख्दै हिँडेको आरोप लगाएका थिए ।

कांग्रेसले सत्ता छोड्नुपरेको रिस संसद्मा पोखिरहेको पनि ओलीको आरोप छ । कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीमा मुछेर आरोप लगाउने तर त्यस विषयमा स्पष्ट पार्न बोल्न नदिने कांग्रेसको व्यवहार अलोकतान्त्रिक भएको ओलीको भनाई छ । उनले भने,‘कांग्रेस आरोप लगाउँछ, संसदमा बोल्छु भन्दा बोल्न दिँदैन ।’

उनले सरकारको नीति तथा कार्यक्रममाथि छलफल गरी समयमा नै बजेट पास गरेर कार्यान्वयन गर्नुपर्ने भएकाले संसद्को अवरोध सह्यै नहुने चेतावनी दिए । कांग्रेसले रोकेर अब संसद् बैठक नरोकिने उनले बताए । उनले भनेका थिए,‘हामी संसद् चलाउँछौँ, उसले संसद् चाहिँदैन भन्ला रे हामी मान्छौँ त ?’

कांग्रेसले माने पनि नमाने पनि जेठ १५ गतेभित्र नीति तथा कार्यक्रम पारित गरेर बजेट ल्याइने ओलीको दाबी छ । उनले भने,‘कांग्रेस मान्छ भने मान्छ, मान्दैन भने हामी संसद् चलाउँछौँ, नीति तथा कार्यक्रम पास गर्नुपर्छ, देशलाई बजेट दिनै पर्छ ।’

कांग्रेसको कुण्ठाको कारण देशलाई नै ठप्प पार्न नसकिने उनको भनाई थियो । कांग्रेसले जे जे भन्यो सत्ता पक्षले त्यही त्यही मान्न नसक्ने र मान्नु पनि नपर्ने ओलीको टिप्पणी छ ।

संसद् चल्न नदिने र संसदीय गतिविधिलाई अघि बढ्न नदिने कांग्रेसले आफ्नाविरुद्ध संसद विघटन गर्ने ठाउँमा पुर्यायो भनेर बेइमानीपूर्ण आरोप लगाउँदै हिँडेकोप्रति ओलीले आपत्ति जनाए ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖