• Saturday 24th of October 2026

ओलीको नियत यही गठबन्धनबाट संसद् विघटन गर्ने देखियो : संविधानविद् डा. आचार्य


  • धनकुटा खबर
  • .

काठमाडौं, ५ जेठ । संविधानविद् डा. भीमार्जुन आचार्यले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि संसद् विघटन गर्न लागेको गम्भीर आरोप लगाएका छन् । प्रजातान्त्रिक विचार समाजको स्थापना दिवस तथा २६औं केन्द्रीय साधारणसभालाई सम्बोधन गर्दै डा. आचार्यले यस्तो आरोप लगाएका हुन् ।

सम्बोधनको क्रममा उनले भनेका थिए,‘अहिलेपनि पूर्व प्रधानमन्त्री ओलीज्यूको नियत हेर्नुभयो भने उहाँले सक्यो भने यो कोलिसनमा यो हाउस डिजल्भ गर्ने हो । डिजल्भ गरेर उहाँले हिजो गरेको कामको वैद्यता प्राप्त गर्न चाहनुहुन्छ । त्यो अपनत्व गरेर उहाँ चुनावमा जान चाहनुहुन्छ । अहिलेको सारा अवस्थालाई हेर्दाखेरि त्यो हुने सम्भावना धेरै देखिन्छ ।’

डा. आचार्यले शून्यतामा मुलुकलाई पुर्याउन नहुनेमा जोड दिए । सो क्रममा उनले नेपाली कांग्रेस नेतृत्वको सरकार नभएको भए २०७२ मा संविधान जारी हुने थिएन भन्ने दाबी गरे । उनले भने,‘म दाबीको साथ भन्छु सुशिल कोइराला नेतृत्वको कांग्रेसको सरकार हुन्थेन भने यो संविधान बास्तवमा आउने नै थिएन । यो पक्का कुरा थियो ।’

तर, कांग्रेसले पनि सम्झौताको नाममा संविधान जारी गर्दा एमाले, माओवादीसँग लतारिएको उनको आरोप थियो । उनले भने,‘अलोकतान्त्रिक शक्तिलाई त संविधान नै चाहिँदैन् । संविधानवाद त डेमोक्रेसीमा विश्वास गर्नेहरुको लागि हो । अमेरिका, युरोपले संविधान लेख्दा इतिहासलाई सम्मान गरेको छ । तर, हाम्रोमा त प्रस्तावनामा नै गाली गरेर सुरु गरिएको छ ।’

संविधानविद् आचार्यले प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली बनाईए मुलुक नै नरहने टिप्पणी गरे । उनले भने,‘यो बजारको पपुलिज हेर्नुहोस । तपाईं हामी त छोडिदिउँ, न्यायाधीश पनि अहिले के गर्दा लाईक बढ्छ, त्यही काम गर्छ । आफूले गरेको फैसलालाई इन्टरभ्यु दिँदै हिँड्ने, मैले बहादुरी गरें भनेर । प्रतिरक्षा गर्ने लिगल ट्रेडिसनमा कल्पना पनि गरिँदैन् । एउटा कृत्रिम मान्छेलाई खडा गरिदिने, मिडियाका साथीहरु हुनुहुन्छ, तपाईंहरु पनि इन्फ्ल्युन्स भएको देख्छु मैले । मिडिया ट्रायलबाट उसलाई नायक बनाईदिने, सामाजिक सञ्जालबाट उसलाई नायक बनाईदिने, अनि उसको हातमा तपाईं कार्यकारी शक्ति दिने हो भने मुलुक उसले खाईदिन्छ ।’

उनले नेपालमा अरु राजनीतिक दलको काम भनेको अराजकतालाई फस्टाएर त्यसबाट फाईदा लिनेमात्रै भएको आरोप लगाए । देशमा विद्यमान सबैखाले समस्याको समाधानको लागि कांग्रेसले नेतृत्वदायी भूमिका लिनुपर्नेमा आचार्यको जोड थियो । उनले देशमा प्रादेशिक संरचना आवश्यक नभएको कुरा प्रमाणित भएको ठोकुवा गरे । प्रदेश खारेज गर्नको लागि पनि उनले कांग्रेस नेताहरुलाई आग्रह गरे ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖