• Saturday 24th of October 2026

माधव नेपाल कोर टिमसहित छलफलमा, प्रचण्डलाई विश्वासको मत दिने वा नदिने आजै निर्णय लिने


  • धनकुटा खबर
  • .

काठमाडौं, ५ जेठ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई अहिले सत्ता गठबन्धन निल्नु न ओकल्नु भएको छ । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले कांग्रेससँगको गठबन्धन तोडेर एमाले र रास्वपासहितको गठबन्धन बनाउँदापनि माधव नेपाललाई थाहा दिएका थिएनन् ।

अहिले सत्ता गठबन्धनमा प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीको मात्रै चोचोमोचो मिलेको छ । माधव नेपाल चरम उपेक्षामा परेका छन् । यसबारे उनले सार्वजनिक कार्यक्रममै आफ्नो रोष प्रकट गर्ने गरेका छन् । आजमात्रै पनि उनले प्रधानमन्त्री दाहाल प्रमुख अतिथि रहेको एक कार्यक्रममा आफूहरु सरकारमा भएरपनि तमाशामात्रै हेर्नुपरेको र प्रधानमन्त्री दाहाल व्यस्त रहेको भनेर टिप्पणी गरेका थिए ।

प्रधानमन्त्री दाहालले यही जेठ ७ गते विश्वासको मत लिँदैछन् । सरकारमा सहभागी दल जनता समाजवादी पार्टी, नेपाल विभाजन भएपछि उपेन्द्र यादवले सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिने निर्णय लिएका थिए । यादवले समर्थन फिर्ता लिएको एक साता नबित्दै दाहालले संसद्मा विश्वासको मत लिन लागेका हुन् । कतिपयले दाहाल हतारिनुको पछाडिका पाटा केलाईरहेका छन् । कतिपयले भने जसपा नेपाल विभाजनबारे अदालतले के आदेश दिने हो ? भन्दै आँत्तिएर विश्वासको मत लिन लागेको भनेरपनि टिकाटिप्पणी गर्ने गरेका छन् ।

सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) सँग प्रधानमन्त्री दाहालले खासै गम्भीर रुपमा छलफल गरेका छैनन् । यता, माधव नेपाल भने अब के गर्ने ? र कसरी अघि बढ्ने भन्नेबारे आफ्नो दलका नेताहरुसँग छलफलमा जुटेका छन् । कोटेश्वरस्थित् उनको निवासमा यतिवेला महासचिव घनश्याम भुसााल, उपाध्यक्ष डा. वेदुराम भुसााल र उपमहासचिव प्रमेश हमाल भेला भएका छन् । भेटमा राजेन्द्र पाण्डेपनि सहभागी छन् ।

पाण्डेले प्रधानमन्त्री दाहालले विश्वासको मत पाउने वा नपाउने भनेर यसै भन्न नसकिने भनेर सार्वजनिक रुपमै टिप्पणी गरेका थिए। आफूहरुलाई निरन्तर उपेक्षा गर्ने अनि आफूहरु सधैं लतिरिएर जान नहुने पक्षमा नेताहरुको मत बलियो भएको छ । माधव नेपाल भने यसपटक प्रचण्डसँग सहकार्यलाई निरन्तरता दिने भन्दापनि सहकार्य तोडेर बोल्न निर्णय लिने पक्षमा पुगेको चर्चा हुने गरेको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖