• Saturday 24th of October 2026

रवि लामिछाने जोडिएको सहकारीको पैसा अपचलनबारे छानबिन गर्न संसदीय समिति बनाउन सहमति


  • धनकुटा खबर
  • .

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न संसदीय समिति गठन गर्ने विषयमा सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच सहमति भएको छ । समितिको कार्यादेश के हुने भन्ने विषयमा दलहरू टुङ्गोमा पुग्न बाँकी छ ।

सहकारीको वचत रकम अपचलनमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने संलग्न भएको घटना सार्वजनिक भएको भन्दै कांग्रेसले यस विषयमा छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै आएको थियो । सरकार र सत्ता गठबन्धनले भने यसलाई अस्वीकार गर्दै आए पनि अहिले आएर सहमति जनाएको नेताहरूले बताए ।

शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन र कांग्रेसका नेताहरुबीचको छलफलमा संसदीय समिति गठनका विषयमा समाधान धारणा बनेको हो । कांग्रेस नेता रमेश लेखकका अनुसार संसदीय छानबिन समिति बनाएर जाने विषयमा समान धारणा छ ।

संसदीय समितिको कार्यादेश बनाउन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी र दलहरूका प्रतिनिधि संलग्न कार्यदलले काम गर्नेछ ।

संसदको गतिरोध अन्त्यका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तापक्ष र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक बसेको थियो ।

बैठकको सुरुमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपा सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले छलफल गरेका थिए ।

उक्त बैठकमै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगै महामन्त्री गगन थापा, कृष्णप्रसाद सिटौला र रमेश लेखक सहभागी थिए ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖