• Saturday 24th of October 2026

प्रतिपक्षीलाई पेलेरै लिए प्रधानमन्त्रीले विश्वासको मत


  • धनकुटा खबर
  • .

विपक्षी दलहरूको अबरोधका बाबजुद प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिएका छन्।

सोमबार बसेको प्रतिनिधि सभा दोस्रो बैठकमा प्रधानमन्त्री प्रचण्डले प्रतिपक्षी दलहरूको घेराबन्दी र नाराबाजीका बीचबाटै विश्वासको मत लिएका हुन।

आज मतदानमा १५८ जना सहभागी रहेका थिए। प्रधानमन्त्री दाहाललाई एक सय ५७ मत र विश्वास मत दिन्न भन्नेमा एक मत परेको सभामुख देवराज घिमिरेले घोषणा गरेका छन्।

प्रधानमन्त्री दाहाललाई सत्तारूढ नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसदहरूले मत दिएका थिए।
सभामुख घिमिरेले प्रधानमन्त्रीले राखेको विश्वास मत प्रस्ताव बहुमतले पारित भएको पनि घोषणा गरेका छन‍्।

नाराबाजी गरिरहेको नेपाली कांग्रेससहितका प्रतिपक्षी दलहरू भने मतदान प्रक्रियामा सहभागी नै भएन।

प्रधानमन्त्रीले विश्वासको मत लिइरहँदा विपक्षी सांसदहरूले जबरजस्ती गर्न पाइँदैन, सरकारको जबरजस्ती बन्द गर जस्ता नारा लगाएका थिए।
नाराबाजीकै बीचमा विश्वासको मत मागेका प्रधामन्त्री प्रचण्डले आफूले विश्वासको मत लिइरहँदा नाराबाजी र अबरोध गरेर कांग्रेसले ठूलो गल्ती गरेको बताएका थिए।

‘तपाईंहरूले आज बहुत गलत गर्नुभयो। जुन प्रधानमन्त्रीले तपाईंहरूलाई पटक पटक साथ दियो र यो पटक पनि जुन प्रधानमन्त्रीले तपा‍ईंहरूलाई संवादको बाटोमा ल्याउन मेहनत गरेको छ। त्यसलाई संविधान अनुसार विश्वासको मत लिन नदिएर तपाईंहरुले इतिहासमा एउटा नराम्रो उदाहरण प्रस्तुत गर्नुभयो,’ उनले भने।

प्रधानमन्त्री प्रचण्डले कांग्रेसले यसको ठूलो मूल्य चुकाउनुपर्ने पनि बताए।
‘तपाईंहरू नेपाली कांग्रेसका लागि चर्को पर्नेछ। आज तपाईंहरूको यो गतिविधि नेपालको इतिहासमा राम्रैसँग स्थापित हुनेछ। कलंकको रूपमा,’ उनले भने।

यस्तै नेकपा एमालेका सांसद विष्णु पौडेलले सरकार परिवर्तनका कोसिसहरू माकुराको जालोजसरी च्यातिएको टिप्पणी गरेका छन्।
‘सरकारलाई स्थायीत्वको साथमा अगाडि बढाउनुपर्ने अहिलेको आवश्यकता थियो। यसबीचमा पर्दाभित्रबाट सरकारलाई कमजोर पार्ने, सरकार बदल्ने, कुनै पारदर्शी ढंगले होइन, पर्दाभित्रबाट सरकारलाई कमजोर बनाउने, सरकारलाई बदल्ने खालका कोसिसहरू पनि भए। तर कोसिस माकुराको जालो जसरी च्यातियो, त्यो कुनै लुकेको कुरा होइन। सरकार परिवर्तनका कोसिसहरू माकुराको जालोजसरी च्यातियो,’ उनले भने।
मतदान प्रक्रिया चलिरहँदा नेपाली कांग्रेससहितका प्रतिपक्षीहरूले भने नाराबाजी गरिरहे।

जनता समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन्। जसपा नेपाल वैशाख ३१ गते सरकारबाट बाहिरिएको थियो। र, समर्थनसमेत फिर्ता लिएको थियो।
संविधानको धारा १०० को उपधारा २ अनुसार प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राखेका थिए।

२०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पुस २६ गते पहिलो पटक विश्वासको मत लिएका थिए।
२०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले त्यही २६ गते विश्वासका मत लिएका थिए। त्यतिबेला सदनमा उपस्थित २७० सांसदमध्ये २६८ जनाले उनलाई समर्थन गरेका थिए।
२०७९ फागुन १५ गते एमाले सरकारबाट बाहिरिएर गठबन्धन फेरबदल भयो। चैत ६ गते प्रधानमन्त्री प्रचण्डले पुनः विश्वासको मत लिएका थिए।
त्यतिबेला सदनमा २६२ सांसद उपस्थित भएका थिए। विश्वासको मतको प्रस्तावको पक्षमा १७२ र विपक्षमा ८९ मत परेको थियो।

गत फागुन २१ गते प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेससँगको गठबन्धन तोडेपछि नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी सहितका दलको नयाँ समीकरण बनेको थियो।
त्यसपछि फागुन ३० गते प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएका थिए।

त्यतिबेला विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा १५७ सांसदले समर्थन गरेका थिए भने प्रस्तावको विपक्षमा ११० मत परेको थियो। प्रधानमन्त्री दाहाललाई मत दिन्न भन्नेमा १ मत परेको थियो।
प्रधानमन्त्री प्रचण्डले सोमबार चौथोपटक विश्वासको मत लिएका हुन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖