काठमाडौँ । गुण्डागर्दी गरेको आरोपमा प्रहरीले ललितपुरबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलान्चोकको रोशी गाउँपालिका–४ घर भएर ललितपुर बस्ने २६ वर्षीय मिलन तामाङ र तेमाल गाउँपालिका–७ घर भएर भक्तपुर बस्ने २८ वर्षीय विजय लामा छन् ।
२०८० फागुन १७ मा उनीहरुले काठमाडौँ–३२ कोटेश्वरस्थित केएलसी क्लव अगाडि राजन बरुवाललाई अङ्गभङ्ग हुनेगरी कुटपिट गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले रातोपाटीलाई बताए।
उनीहरु ललितपुर महानगरपालिका–१४ स्थित महालक्ष्मी स्थानबाट पक्राउ परेका हुन् । मिलन पटक–पटक अपराधमा संलग्न रहेको भेटिएको छ । उनीविरुद्ध २०७३ फागुनमा ललितपुर प्रहरीले जुवासम्बन्धी कसुरमा मुद्दा चलाएको अपराध रेकर्ड भेटिएको छ ।
उनीविरुद्ध बानेश्वर प्रहरीले २०७४ पुसमा ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा मुद्दा चलाएको थियो । प्रहरी वृत्त महाराजगन्जले उनीविरुद्ध अभद्र व्यवहार, गौशाला प्रहरीले अभद्र व्यवहार तथा डाँका चोरी सम्बन्धी कसुरमा मुद्दा चलाएको अपराध रेकर्डबाट देखिएको छ ।
