• Saturday 24th of October 2026

सूचना बेच्ने राष्ट्रघातीलाई कारबाही नगरे रविलाई नै प्रधानमन्त्रीले कारबाही गर्नुपर्छ : मैनाली


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेकपा (माले) का महासचिव सीपी मैनालीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गृहमन्त्री रवि लामिछानेलाई कारबाही गर्न माग गरेका छन् । संसद् बैठकमा नेपाली कांग्रेसका सांसदमाथि गम्भीर आरोप लगाएका गृहमन्त्री लामिछानेले त्यस सम्बन्धमा तत्काल कारबाही अघि नबढाए उनीमाथि नै कानुनसम्मत कारबाही गर्नुपर्ने मैनालीले धारणा राखेका हुन् ।

उनले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘यही जेठ ६ गते संसद्मा बोल्दै गृहमन्त्री रहेका रास्वपाका सभापति रवि लामिछानेले भनेका छन्, “देशका गोप्य सूचना विदेशीलाई बेच्ने एजेन्टलाई ….. पनि बाहिर पठाऔँ, संसद्बाट हटाऔँ ।” जनता सोध्न चाहन्छन् : मुलुकका गोपनीयताहरू परचक्रीलाई पुर्‍याउने राष्ट्रघाती नेता/सांसद/मन्त्री नै भएको थाहा पाइपाई गृहमन्त्री जस्तो जिम्मेवार व्यक्तिले के हेरेर बसेका छन् ? किन उनी त्यस्ता व्यक्तिहरू विरुद्ध कारबाही अघि बढाइरहेका छैनन् ? गृहमन्त्रीले यस सम्बन्धमा तत्काल कारबाही अघि बढाउन; होइन उनले आफूमाथि लागेको सहकारी–सम्पत्तिको ठुलो अपचलनको आरोपलाई खण्डन गर्ने ठोस आधार नपाई यस्तो निराधार कुरा गरेका हुन् भने प्रधानमन्त्रीले उनलाई अविलम्ब कानुनसम्मत कारबाही गरुन् भनी सशक्त आग्रह गर्दछौँ ।’

हाल सत्ता लिप्साको पर्याय बनेको नेपालको राष्ट्रिय राजनीति पद एवं शक्तिको दुरुपयोग तथा लुछाचुँडीको खेल बनेको जनताले प्रत्यक्ष देखिरहेको मैनालीको भनाई छ । अहिले सत्तासीन वा प्रतिपक्षमा रहेका पुराना संसद्वादी दलहरू र तिनका पिछलग्गु केही “नयाँ” दलहरू समेत एकअर्काको पोल खोलाखोल गर्दै नाङ्गिइरहेको र आपसी औपचारिक मर्यादा समेत लत्त्याउन पुगेको उनको ठहर छ ।

‘यसबाट २०१७ सालदेखि २०४६ को अवधि बाहेक २००७ देखि नेपालमा लागु गरिएको बेलायती वेष्टमिन्स्टर व्यवस्था निकम्मा भैसकेको र चालू धनतन्त्रका तथाकथित “निर्वाचित जनप्रतिनिधिहरू” औसरवादी र राजश्व दोहन–कर्ता मात्र भएको पुनर्पुष्टि भएको छ,’ उनले भनेका छन् ।

उनले यो सरकार संसद् विघटन गरी अध्यादेशबाट २०८१/८२ को वार्षिक बजेट ल्याउने प्रपञ्चमा लागेको गम्भीर आरोप समेत लगाएका छन् । ‘यी काम निन्दनीय छन्, जसको हामी कडा विरोध र भर्त्सना गर्दछौँ,’ उनले भनेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖