• Saturday 24th of October 2026

सिरोहियालाई पक्रन आनाकानी गरेपछि आईजीपीसँग गृहमन्त्री लामिछाने रिसाएको खुलासा


  • धनकुटा खबर
  • .

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्न प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले ‘आनाकानी’ गरेपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गुहारेको खुलासा भएको छ ।

सिरोहियालाई पक्राउ गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीले समेत गम्भीर चासो देखाएको बताइएको छ ।

प्रमुख सञ्चारगृहका सम्पादकहरूले लेखेको संयुक्त पत्र बुधबार अपराह्न बुझ्ने क्रममा प्रधानमन्त्री प्रचण्डले आफू तत्काल सिरोहियालाई पक्राउ गर्ने मनस्थितिमा नरहेको बताउँदै भने, ‘हिजो बिहानसम्म पनि म कैलाशजीलाई समाउने बेला भएको छैन, त्यसो नगरौं भन्नेमा नै थिएँ, तर अदालतले नै पक्राउ गर्न आदेश दिइसकेको अवस्थामा मैले त्यसो नगरौं भन्ने अवस्था भएन, त्यसैले कैलाशजीको पक्राउसम्बन्धी मैले जिम्मेवारी लिनुपर्छ, लिन्छु ।’

३१ जना सम्पादकहरूका तर्फबाट प्रतिनिधिका रूपमा प्रतीक प्रधान, अमित ढकाल, मदन लम्साल र पुष्प दुलाल प्रधानमन्त्रीलाई भेट्न बालुवाटार गएका थिए ।

सिरोहियाको नागरिकतालाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीकै एक कार्यकर्ताले जिल्ला प्रहरी कार्यालय धुनषामा ‘नियोजित’ रूपमै उजुरी दर्ता गराएका थिए । गृह मन्त्रालयको बागडोर सम्हालिरहेका लामिछानेकै योजनामा प्रहरीमा उजुरी दर्ता गरिएको थियो । त्यसपछि प्रहरीले जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको थियो ।

उच्च स्रोतका अनुसार जिल्ला अदालतबाट पक्राउका लागि अनुमति लिएपछि सिरोहियालाई नागरिकता मुद्दामा पक्राउ गर्न गृहमन्त्री लामिछानेले प्रहरी महानिरीक्षक कुँवरलाई निर्देशन दिएका थिए । तर, कुँवरले एकपटक प्रधानमन्त्रीलाई सोध्ने कि भनेर ‘अल्झाउन’ खोजेका थिए ।

त्यसपछि गृहमन्त्री लामिछाने अदालतको आदेश आइसक्दा पनि केको अप्ठेरो भन्दै प्रहरी महानिरीक्षक कुँवरसँग रिसाएका थिए । त्यसपछि लामिछाने आफैँ बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसँग कुराकानी गरेका थिए । त्यसपछि प्रधानमन्त्रीले प्रहरी महानिरीक्षक कुँवरलाई टेलिफोन गरी सिरोहियालाई पक्राउ गर्न निर्देशन दिएका थिए ।- राजधानी दैनिकबाट

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖