• Saturday 24th of October 2026

सन्दीपको भिसाबारे साँझसम्म पनि जानकारी नआए ‘परराष्ट्रमन्त्री श्रेष्ठले अमेरिकी राजदूतसँगै कुरा गर्ने’


  • धनकुटा खबर
  • .

काठमाडाैं । संयुक्त राज्य अमेरिकाको नेपालस्थित दूतावासले क्रिकेटर सन्दीप लामिछानेको भिसा अस्वीकार गरेसँगै अहिले उच्च सरकारी तहबाट नै पहल भइरहेको छ।परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशनमा शुक्रबार बिहानै दूतावासका डीसीएम (दूतावासका मिसन उपप्रमुख)सँग छलफल भएको हो।

परराष्ट्र स्रोतले भन्यो, ‘परराष्ट्रमन्त्रीको निर्देशनपछि सन्दीपको बारेमा बिहानै डीसीएमलाई बोलाएर कुराकानी भइसकेको छ। डिभिजन प्रमुखले एम्बेस्सीको भिसा अफिसर को हो उसलाई देखाउन मिल्दैन। उसले चाह्यो भने मात्र हो। दुतावासमा छलफल गरेर जानकारी दिने बताउनुभएको छ।’

यसअनुसार आज साँझसम्म कुर्ने र कुनै जानकारी नआए सोमबार परराष्ट्रमन्त्री श्रेष्ठले नै राजदूत डिन आर थम्पसनसँग कुराकानी गर्ने मन्त्रालय स्रोतले बतायो। बुधबार भिसाका लागि गरेको प्रक्रिया दूतावासले अस्वीकार गरेको सन्दीपले सामाजिक सञ्जालमार्फत बताएका थिए। सन्दीपको भिसा प्रक्रिया अस्वीकार भएपछि बिहीबारदेखि उच्च तहबाट पहल भइरहेको हो।

हाल नेपाल क्रिकेट संघ (क्यान), युवा तथा खेलकुद मन्त्रालय र परराष्ट्र मन्त्रालयको तर्फबाट पहल भइरहेको छ। ‘आज साँझसम्म केही राम्रो होला भन्ने आशा छ। हामी प्रक्रियामा नै रहेकाले प्रधानमन्त्री, खेलकुद र परराष्ट्र मन्त्रालयसँग छलफल गरेर लागिपरिरहेका छौँ’, क्यान स्रोतले भन्यो, ‘सन्दीपको बारेमा अहिलेसम्म कुनै औपचारिक निर्णय आएको छैन। हामी सकारात्मक जवाफको प्रतीक्षामा छौँ।’

क्यानले आफ्नो तरिकाबाट सबै कुरा गरेको उनको भनाइ छ।‘सन्दीपको भिसाका लागि अहिले सरकारी निकायबाट पनि पहल भइरहेको छ’, ती अधिकारीले भने, ‘क्यानबाट मात्र नभई कूटनीतिक तवरबाट नै केही गर्नुपर्छ भनेर लागिपरिरहेका छौँ’,

अमेरिकी दूतावासले आफूहरुको भिसा पोलिसीमा कुनै एक व्यक्तिविशेषलाई छुट्टै गर्ने अधिकार नभएकाले त्यहीअनुसार गरेको बताएको क्यान स्रोतले बतायो। तर कुनै त्यस्तो व्यक्ति छ भने राज्यको तर्फबाट केही सहजीकरण गर्न भनेकाले कुराकानी भएको स्रोतको भनाइ छ।

बुधबार सन्दीपको भिसा अस्वीकृत भएको थियो। सन्दीपको भिसा अस्वीकार भएसँगै उनी विश्वकप खेल्न जान पाउने वा नपाउने भन्ने अन्यौल बढेको छ। आईसीसी टी–२० विश्वकपका लागि आईसीसीले यसअघि घोषणा गरेको टोलीमा शनिबार साँझसम्म मात्र नाम परिवर्तन गर्न पाउने समय छ। सोही कारण नेपाल क्रिकेट संघ (क्यान) र सरकारी तहबाटै पहल तीव्र बनाइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖