काठमाडौं। प्रतिनिधि सभामा अर्थमन्त्री बर्षामान पुनले आर्थिक सर्वेक्षण र सार्बजनिक संस्थानको बार्षिक स्थितिको समीक्षा प्रतिवेदन २०८१ पेश गरेका छन्।
प्रतिनिधि सभाको बैठकमा प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबाजीका बीच अर्थमन्त्री पुनले आर्थिक सर्वेक्षण प्रस्तुत गरेका हुन्।
अर्थमन्त्री पुनले सरकारको आगामी आवको राजश्व र व्ययको अनुमान पेश गर्नुअघि आर्थिक सर्भेक्षण पेश गरेका हुन्। सर्भेक्षणमा उनले गत आवको पूरा अवधि र चालु आवको ८ महिनासम्मको संघ प्रदेश र स्थानीय तहको क्षेत्रगत विकास र सुशासनको अवस्था विश्लेषण गरेका हुन्।
उनले चालू आर्थिक वर्ष २०८०-८१ मा ३ दशमलव ९ प्रतिशतको आर्थिक वृद्धिदर हुने अनुमान गरेका छन्। अर्थमन्त्री बर्षमान पुनले ३.९ प्रतिशतको आर्थिक वृद्धिदर हुने अनुमान गरिएको बताए।
उनले चालू आर्थिक वर्ष कुल लगानी २ दशमलव ८ प्रतिशतले बढेर १७ खर्ब ४१ अर्ब ४८ करोड पुग्ने अनुमान रहेको बताए।
त्यस्तै प्रति व्यक्ति आय १ हजार ४ सय ५६ अमेरिकी डलर पुग्ने अनुमान पनि गरिएको छ भने चालू आर्थिक बर्षको फागुनसम्म औसत मुद्रा स्फीतिदर ६ दशमलव ०८ प्रतिशत रहेको बताए।
चालू वर्षको फागुनसम्म संघीय सरकारको राजश्व संकलन ६.९ प्रतिशतले बढेर ६ खर्ब ३९ अर्ब ५ करोड पुगेको भन्दै उनले संघीय खर्च २.९ प्रतिशतले बढेर ८ खर्ब १ अर्ब ९८ करोड पुगेको जानकारी दिए। फागुनसम्म कूल सार्वजनिक ऋण २३ खर्ब ८८ अर्ब २६ करोड पुगेको रकूल ऋणमध्ये आन्तरिक ऋण ४९.६ प्रतिशत र बाह्य ऋण ५०.४ प्रतिशत रहेको उनले बताए।
त्यस्तै अर्थमन्त्री पुनले फागुनसम्म निजी क्षेत्रमा प्रवाहित कर्जा ५.६ बढेको, बैंक तथा वित्तीय संस्थाको शाखा सञ्जाल बढेको जानकारी दिए। उनले मुलुकको आर्थिक अवस्था क्रमश सुधार हुँदै गएको जानकारी दिए। उनले समग्र आर्थिक अवस्था सुधार भइरहेको दाबी गरेका छन्।
उनलाई कांग्रेसका संसदले रोष्टममा जान अवरोध गरेपछि सत्तापक्षका सांसदहरु र मर्यादापालकको सहयोगमा रोष्टममा पुगेका थिए।
