• Sunday 25th of October 2026

शक्तिशाली ‘रेमल’ चक्रवातको प्रभाव यी चार प्रदेशमा पर्ने, २ दिन सतर्क रहनुपर्ने


  • धनकुटा खबर
  • .

उत्तरी बंगालको खाडीमा रहेको शक्तिशाली ‘रेमल’ चक्रवातको प्रभाव नेपालमा पनि पर्ने भएकाले चार प्रदेशका बासिन्दालाई दुई दिन सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले सुझाव दिएको छ।

उक्त शक्तिशाली चक्रवात प्रत्यक्ष रूपमा नेपाल प्रवेश नगर्ने भए पनि यसको अप्रत्यक्ष प्रभावबाट सोमबार र मंगलबार कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा चट्याङ, हावाहुरीसहितको वर्षा हुने महाशाखाले जनाएको छ।

महाशाखाले आइतबार (आज) विशेष बुलेटिन जारी गर्दै भनेको छ–

–कोसी प्रदेशका केही स्थानमा मेघगर्जन/चटयाङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा र एक/दुई स्थानमा भारी वर्षाको साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ। तराईका भूभागमा हावाहुरीको समेत सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

–मधेस प्रदेशको थोरै स्थानमा मेघगर्जन/चटयाङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

–बागमती प्रदेशको थोरै स्थानमा मेघगर्जन/चटयाङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको साथै उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

–गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन/चटयाङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा र एक/दुई स्थानमा भारी वर्षाका साथै उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

महाशाखाले चेतावनी जारी गर्दै भनेको छ– तसर्थ सोमबार र मंगलबार दैनिक जनजीवन, कृषि, पर्यटन, सडक तथा हवाई, यातायातलगायत क्षेत्र प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउन सर्वसाधारण तथा सबै सरोकारवाला निकायमा अनुरोध छ।

महाशाखाका अनुसार बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली शनिबार साँझ नै चक्रवातमा परिणत भई हाल शक्तिशाली चक्रवात बनेको छ। उक्त चक्रवातको नाम ‘रेमल’ राखिएको छ। यो चक्रवात भारतको पश्चिम बंगाल तथा बंगलादेशको तटीय क्षेत्रतर्फ अगाडि बढिरहेको देखिन्छ।

यो चक्रवात आज राती बंगलादेश र पश्चिम बंगाल आसपसको तटीय क्षेत्रमा प्रवेश गर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
बंगलादेश र पश्चिम बंगालमा पनि मौसमविद्ले चेतावनी जारी गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖