• Tuesday 27th of October 2026

माननीय बन्ने सम्भावना देखेपछि राप्रपामै फर्किईन् अन्जना शाह


  • धनकुटा खबर
  • .

काठमाडौं,२६ असार । पार्टीभित्रको अन्तर्विरोधप्रति असन्तुष्टि जनाउँदै साधारण सदस्य समेत नरहने गरी राप्रपाबाट बाहिरिएकी नेतृ अन्जना शाह रावल अन्ततः पार्टीमै फर्किएकी छन्। शीर्ष नेताहरूले राजीनामा नदिन गरेको आग्रह र विषम परिस्थितिलाई ध्यानमा राख्दै आफू पार्टी जिम्मेवारीमा फर्किएको शाहले जनाएकी छन्।

उनले गत असार ५ गते राप्रपाको महिला संगठनको अध्यक्षलगायतका सबै पद परित्याग गरेको घोषणा गरेकी थिईन् । पार्टीको भोटरसमेत नरहेको जानकारी गराएकोमा आज भने एक विज्ञप्तिनै जारी गर्दै शीर्ष नेतृत्वको आग्रहलाई स्वीकार गरेर पार्टीको जिम्मेवारीमा फर्किएको उल्लेख गरेकी छन् ।

उनले लेखेकी छन्,’मेरो उदेश्य मेरो पार्टीलाई हानी पुर्याउने कदापि थिएन । शीर्ष नेताज्युहरुको निर्देशन , मेरा साथीहरूको आग्रह , सङ्गठनका मेरो प्यारा दिदिबहिनीहरुको माया , स्नेह, अपनत्व अनि सद्भावका कारण म जिम्मेवारीबाट पन्छिन नसक्ने भएकीछु । मैले दिएको राजीनामा बिधान अनुसार नभएको र जहाँ दिएको त्यहाबाट स्वीकृत गर्न नमिल्ने भन्ने कुराको जानकारी प्राप्त भएको साथै जसरी फेसबुकबाट राजीनामा सार्वजनिक भएको थियो त्यसरी नै फिर्ता लिनुपर्ने भन्नेकुरा आएकोले मैले मेरो राजीनामा फिर्ता लिएको जानकारी गराउन चाहन्छु । आगामी दिनमा मेरो पार्टी प्रतिको निष्ठामा कुनै पनि सम्झौता नगरी पार्टी लाई थप उचाइ दिन म अहम भुमिका निर्वाह गर्ने प्रतिवद्दता ब्यक्त गर्दछु । मेरो राजीनामा पत्रले पार्टी लाई पुग्न गएको क्षति प्रती म क्षमा चाहन्छु ।’

शाहले विज्ञप्तिमा जेसुकै लेखेपनि उनको राजीनामा फिर्ता हुनुको कारणभित्र उनी सांसद हुनसक्ने सम्भावना रहेको राप्रपा स्रोत बताउँछ । अञ्जना राप्रपाले प्रतिनिधि सभाको समानूपातिकतर्फ खस आर्य महिलाको दोस्रो नम्बरमा छिन् । राप्रपाले गत आम निर्वाचनमा ७ सीट समानुपातिकमा जित्दा पहिलो नम्बरमा रहेकी गीता बस्नेत सांसद बनिन् ।

पहिलो नम्बरकी गीता सांसद बनेपछि अञ्जना सांसद बन्न पाईन्न । तर, गीता हाल सहकारी ठगी प्रकरणमा जोडिएकी छन् । उनीनिरुद्ध नवलपरासीको छिपछिपे सहकारीको करोडौं रकम हिनामिना गरेको आरोपमा अदालतमा मुद्दा दायर भएको छ भने उनी फरार छिन् । यदि फरार सांसद बस्नेत सहकारी ठगीमा दोषी देखिए उनलाई सांसदबाट हटाउने राप्रपाको योजना छ । बस्नेत सांसदबाट हट्दा स्वत शाहको सांसद बन्ने भाग्य खुल्नेछ । यहि सम्भावनालाई बुझेर नै उनले राजीनामा फिर्ता लिएको चर्चा राप्रपामा छ ।

उनी गत वैशाख २५ गते काठमाडौंमा भएको राप्रपाको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको महाधिवेशनबाट अध्यक्ष पदमा सर्वसम्मत चयन भएकी थिइन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖