• Tuesday 27th of October 2026

प्रधानमन्त्री प्रचण्डले गरे यस्तो सनसनीपूर्ण नयाँ खुलासा


  • धनकुटा खबर
  • .

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ खुलासा गरेका छन् । बुधबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकमा उनले नयाँ समीकरण गठनका सबै कुरा आफूलाई जानकारी भएको खुलासा गरेका हुन् ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमको ब्रिफिङ गर्दै प्रधानमन्त्री प्रचण्डले एमाले–कांग्रेस भेटका सबै सूचना पाएको बताएका थिए । एमाले र कांग्रेसबीच सरकार गठन गर्नका लागि उद्योगी तथा सांसद विनोद चौधरीको घरमा तयारी भएको र उद्यमी रामेश्वर थापाको घरमा सम्झौता भएको खुलासा गरे । यसबाहेक कांग्रेस र एमालेबीच सत्ता गठबन्धन बनाउनका लागि छलफल भइरहेका सूचना आफूकहाँ आएको पनि उनको दाबी छ ।

प्रचण्डले नयाँ गठबन्धन बन्न लागेको सूचना नपाएको खबर बाहिरिएको थियो । तर उनले सबै सूचना आफूसँग आएको बैठकमा बताए ।
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने र त्यसपछि संविधानको कुन व्यवस्थाअनुसार सरकार गठन हुने भन्नेमा विवाद रहेको बताए । ‘संविधानको धारा ७६ को उपधारा ३ अनुसार सरकार बन्ने कि संविधानको धारा ७६ को उपधारा २ अनुसार बन्ने भन्नेमा बहस छ,’ उनले भने, ‘मत विभाजित छन, अन्ततः राष्ट्रपतिको विवेकमा भर पर्छ ।’

संविधानको धारा ७६ को उपधारा २ मा संसद्मा रहेका दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठन गर्ने व्यवस्था छ भने धारा ७६ को उपधारा ३ मा संसद्को सबैभन्दा ठूलो दलको संसदीय दलको नेता प्रधानमन्त्री बन्ने व्यवस्था छ ।

उनले बैठकमा देउवाले प्रधानमन्त्री बन्न अस्वीकार गरेको पनि खुलाए । ‘कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा संविधानको धारा ७६ को उपधारा ३ अनुसारको प्रधानमन्त्री तयार छैनन्,’ प्रधानमन्त्री प्रचण्डले भनेका थिए, ‘यसको अर्थ विश्वासको मत लिएपनि राजीनामा दिएपनि प्रचण्डपछि एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्ने देखिन्छ ।’

माओवादीभित्रै स्पष्ट अल्पमतमा परिसकेको अवस्थामा विश्वासको मत नलिएर सम्बोधन गरेरै सिधै राजीनामा गर्न पनि केही नेताहरूले प्रचण्डलाई सुझाव दिइरहेका छन् । तर प्रधानमन्त्रीले भोलि विश्वासको मत लिन संसद सचिवालयमा पत्र पठाएका छन् । बैठकले प्रधानमन्त्रीले मागेको विश्वासको पक्षमा मतदान गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖