• Tuesday 27th of October 2026

प्रधानमन्त्री प्रचण्डको ल्यापटपबाट चोरिएको त्यो सूचना, जसले प्रचण्डकै सरकार ढल्यो


  • धनकुटा खबर
  • .

काठमाडौं । सुन्दा पनि आश्चर्य लाग्न सक्छ । प्रधानमन्त्रीकै ल्यापटप पनि चोरी हुन्छ र ? भन्ने पनि लाग्न सक्छ । तर, यो यथार्थ हो । विगत एक वर्षदेखि प्रधानमन्त्री प्रचण्डको ल्यापटप नियमित रुपमा चोरी हुँदै आएको थियो । असारको अन्तिम साता प्रचण्ड सरकार ढल्नुका पछाडि सोही ल्यापटप काण्ड त होइन ? अर्को आशंका जन्मिएको छ ।

सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयको दोस्रो तल्लामा रहेको प्रमको विशेष टेबुलबाट साप्ताहिक रुपमा प्रधानमन्त्री प्रचण्डको ल्यापटप सुटुक्क कसैले लैजाने र पुनः फर्काएर सोही स्थानमा ल्याएर राखिदिने गरेका थिए । साप्ताहिक रुपमा चोरिने ल्यापटप कतिपयले थाहा पाएर पनि वास्तै गरेनन् भने कतिपयले रोक्न चाहेर पनि सकेनन् ।

सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्रीकै भित्री कोठाको टेबुलको घर्रामा राखिने गरिएको सो ल्यापटप बेलाबखतमा त्यहाँबाट हराउँथ्यो । कतिपय अवस्थामा कर्मचारीले थाहा पाउथे भने कतिपय अवस्थामा पत्तै नपाई ल्याएर जस्ताको तस्तै बनाएर राखिएको हुन्थ्यो ।

प्रधानमन्त्री प्रचण्डकै सचिवालयको टिममार्फत कसैले उक्त ल्यापटपमा के के कागजपत्र तयार पारिएको छ र के कस्ता निर्णर्यहरु अघि बढ्दैछन् भनेर खुरुखुरु दिल्लीले सूचना लगि रहेको थियो । तर, प्रधानमन्त्री आफै आफ्नै विश्वासपात्रद्धारा गद्दारी र धोकामा परिरहेका थिए ।

२०८१ जेठको पहिलो सातातिर प्रधानमन्त्रीको सचिवालयमा उक्त ल्यापटप नियमित रुपमा चोरी हुने गरेको सूचना पनि नदिएको होइन तर, कसैले छानविन नै नगरी त्यतिकै छोडिदिए । किनकि उक्त ल्यापटपबाट प्रचण्डले आवश्यकता भन्दा बढि विश्वास गरेका व्यक्तिमार्फत खुरुखुरु सूचना चुहिरहेको थियो । जसको अप्रत्यक्ष मारमा प्रधानमन्त्री प्रचण्ड आफै परेका छन् । उक्त ल्यापटपमार्फत प्रधानमन्त्रीका भावी योजनाहरु र रणनीतिहरु समेत चुहिएको आशंका गरिएको छ । यद्यपि के के सूचना चुहियो भन्ने प्रमाणित भइसकेको छैन ।

त्यसो त नेपालका प्रधानमन्त्री र राजाहरुकै समेत सचिवालयमा विदेशीका एजेन्टहरु हुनु नौलो कुरा होइनन् । तत्कालिन राजा बीरेन्द्रले आफ्नै सचिवालयमा विदेशी एजेन्टलाई स्वकिय सचिव बनाएर सकिए झै कतै प्रचण्ड पनि आफ्नैका सिकार भएका त होइनन् भन्ने आशंका उब्जिएको छ । यस पटक प्रधानमन्त्री (हाल काम चलाऊ प्रम भइसकेका) प्रचण्ड पनि यस्तैको सिकार हुनु पुगेका छन् । उक्त ल्यापटक चोरी काण्डबारे सचिवालयले किन छानविन गर्न सकेन अर्को आश्चर्यको विषय बन्न पुगेको छ ।

स्रोतका अनुसार उक्त ल्यापटप प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट साप्ताहिक रुपमा एक पटक हराउने गरेको थियो । सामान्यतया प्रम प्रचण्ड बाहिर भएको समय र शुक्रबारतिर हराउने गरेको थियो । ‘सम्मानीयज्युको ल्यापटप नियमित अपडेट गर्नुपर्ने भन्दै लैजाने गरेका थिए, बाँकी कुरा हामीलाई सबै थाहा भएन,’ स्रोतले भन्यो ।

प्रधानमन्त्रीकै ल्यापटपबाट चुहिएको सूचनाको कारण वर्तमान सरकार ढलेको विश्वास गरिएको छ । प्रधानमन्त्री ल्यापटपमा भुटानी शरणार्थी काण्ड र सुन काण्डको थप विवरण भएको र सो सूचना दिल्ली हुँदै सम्बन्धित पक्षकोमा पुगेपछि रातारात नयाँ सत्ता गठबन्धन बनेको समेत हुनसक्ने देखिएको छ ।-बीमा पोष्टबाट

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖