काठमाडौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई देश र जनताको पक्षमा काम गरेर देखाउन आग्रह गरेकी छन्।
प्रधानमन्त्री नियुक्त हुनासाथ ओली पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न भंगालस्थित उनको निवासमा गएका थिए।
सो अवसरमा भण्डारीले ओलीलाई बधाई तथा शुभकामना दिएको भेटघाटमा सहभागी एक नेताले बताए।
‘प्रधानमन्त्री नियुक्त हुनुभएकोमा धेरै धेरै बधाई तथा शुभकामना छ’ पूर्वराष्ट्रपति भण्डारीको भनाई उदृत गर्दै उनले नेपालखबरसँग भने, ‘देश र जनताका पक्षमा राम्रो काम गर्नुहोला।’
प्रधानमन्त्री बनेपछि अहिलेसम्मको अवस्थाबारे जानकारी गराउन ओली भण्डारी निवास गएका हुन्।
नेकपा (एमाले) का अध्यक्ष ओलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री नियुक्त गरेका हुन्।
उनको शपथ भोलि (सोमबार) का लागि तोकिएको छ।
