• Saturday 24th of October 2026

सिमलताल दुर्घटना : बाराका तीन जनाको कुशको शव बनाएर दाहसंस्कार


  • धनकुटा खबर
  • .

बारा । गत शुक्रबार काठमाडौं जाने क्रममा बस दुर्घटनामा परी त्रिशुली नदीमा बेपता भएकी रेडियोग्राफर सृष्टि यादवको कुशको शव बनाएर दाहसंस्कार गरिएको छ । यादवको शुक्रबार कुशको शव बनाएर हिन्दु रितिरिवाज अनुसार दाहसंस्कार गरिएको हो ।

चितवनको सिमलतालमा पहिरोले बस बगाउँदा त्रिशुली नदीमा हराइरहेकी यादवको शव एक हप्तासम्म पनि नभेटिएपछि उनका परिवारले कुशको शव बनाएर पसाहा खोलामा अन्तिम संस्कार गरेका हुन् ।

बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १४ निवासी यादव पर्साको सखुवा प्रसौनी गाउँपालिकाको वडा नम्बर ५ स्थित महुवन बर्थिङ सेन्टरमा रेडियोग्राफर पदमा करारमा कार्यरत थिइन् ।

उनी जापान जानको लागि परीक्षा दिन वीरगञ्जबाट काठमाडौंका लागि बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बसमा सवार थिइन् । उक्त बस चितवनको भरतपुर महानगरपालिका २८ सिमलतालमा लेदोसहितको पहिरोले बगाएर त्रिशुली नदीमा खसेको थियो ।

यस्तै, सोही दुर्घटनामा बेपत्ता भएका बाराको प्रसौनी गाउँपालिका वडा नम्बर १ नकटुवाका ४८ वर्षीय ताराचन्द पटेल र उनकी श्रीमती ४३ वर्षीया कुसमीदेवीको पनि बुधबार कुशको शव बनाएर दाहसंस्कार गरिएको थियो । उनीहरु पनि एन्जल डिलक्समा काठमाडौं जाँदै थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖