जहाज दुर्घटनामा परी घाइते भएर सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी)मा उपचारत सौर्य एयरलाइन्सका क्याप्टेन मनीषरत्न शाक्यलाई सघन उपचार कक्ष (आईसीयू)मा सारिएको छ ।
उनको अवस्था सामान्य रहेपनि ‘मनिटरिङ’का लागि आईसीयूमा सारिएको हो ।
इमर्जेन्सी विभागमा धेरै भीडभाड हुने भएकाले आईसीयूमा सारिएको उपचारमा संलग्न चिकित्सक डा नवीनकुमार मिश्रले बताए ।
’उहाँको सामान्य हेड इन्जुरी (टाउकोमा चोट) र लेफ्ट आई लीड (देब्रे आँखाको माथिल्लो भाग)मा पनि चोट लागेको हुनाले ब्लिडिङ भएको थियो,’ उनले लोकान्तरसँग भने, ’घाउँमा ड्रेसिङ गरेर टाँका पनि लगाइसकेका छौँ । उहाँको अवस्था सामान्य भएपनि मनिटरिङका लागि माथि आईसीयूमा सारेका छौँ । कार्बन मोनोअस्काइड ग्यासले कहिलेकाहीँ पोइजनिङ हुन्छ त्यही भएर हामीले मनिटरिङका लागि आईसीयूमा राखेका हौँ ।’
उनलाई सामान्य एन्टीबायोटिक औषधि चलाइएको डा मिश्रले बताए ।
क्याप्टेन शाक्य पूर्णरुपमा होसमा रहेको तथा चिकित्सकसहित परिवारसँग समेत कुराकानी गरेको उनले जानकारी दिए ।
मर्मतका लागि पोखरा उडान गर्ने क्रममा सौर्य एयरलाइन्सको ९एन एएमई जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको हो । जहाँ एयरलाइन्सका टेक्निकल स्टाफ र तिनका परिवारका केही सदस्यसहित १९ जना सवार थिए । जसमध्ये १८ जनाको ज्यान गएको छ ।
