काठमाडौं । चिसोले आज काठमाडौं उपत्यकालाई अझै कठ्यांग्र्याएको छ । न्यूनतम तापक्रम हिजोको ३.१ डिग्री सेल्सियसबाट झरेर आज २.५ डिग्री सेल्सियस पुगेको छ । मौसमविद्हरूका अनुसार यो चिसो अझै केही दिन कायम रहने सम्भावना छ ।
देशका उच्च पहाडी र हिमाली क्षेत्रको अवस्था झन् कठोर छ । जुम्लाको तापक्रम माइनस ७ डिग्री सेल्सियसमा पुगेको छ भने जोमसोममा माइनस ५ र दोलखा जिरीमा माइनस २.४ डिग्री सेल्सियस पुगेको छ ।
काठमाडौंको आकाश खुलेको छ, तुवाँलो हटेसँगै उत्तरतर्फका हिमालहरू सफा देखिन थालेका छन् । बिहानैदेखि घाम लागे पनि चिसोबाट राहत पाउन सकिएको छैन । तराई र पहाडका बेँसी क्षेत्रमा भने बाक्लो हुस्सु र कुहिरोका कारण जनजीवन प्रभावित भएको छ ।
