• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

बीमा रकम हत्याउन सियारामको श्रीमती र भारतीय नागरिकको मिलोमतोमा हत्या


  • धनकुटा खबर
  • .

धनगढी । कञ्चनपुरको बेलौरी नगरपालिका ६ भूराकोटका ४९ वर्षीय सियाराम रानाको हत्या उनकी श्रीमती जनककुमारीले गराएको खुलासा भएको छ । प्रहरीले जनककुमारी र भारतीय नागरिक फारुखलाई हत्या आरोपमा नियन्त्रणमा लिएको छ ।

सियाराम राना १३ मंसिरमा आफ्नै घरमा मृत अवस्थामा फेला परेका थिए । शव शौचालयमा नभइ घरको ग्यालरीको कुनामा सिरकले ढाकिएको अवस्थामा भेटिएको थियो, जसका कारण घटना शंकास्पद बनेको थियो । प्रहरीले सूक्ष्म अनुसन्धान पछि रगत लागेको ईंटा र कपडामा रगतका धब्बा भेटेपछि हत्या भएको शंका गरे ।

पक्राउ परेकी जनककुमारीले आफैंले सियारामलाई ईंटा प्रहार गरी हत्या गरेको कुरा स्वीकार गरेकी छिन् । उनले भारतीय नागरिक फारुखसँग मिलेर सियारामको हत्या गरेको बताएकी छन् । उनका अनुसार, सियारामले नेपाल लाइफ इन्स्योरेन्समा २८ लाखको जीवन बीमा गरेको थियो, र सो रकम लिन हत्या गरेको खुलासा भएको छ ।

भारतीय नागरिक फारुखले सियारामको हत्या गर्ने योजना बनाएको र हत्या पछि शौचालयमा चिप्लिएर लड्दा मृत्यु भएको भनी प्रहरीलाई जानकारी दिएका थिए । तर अनुसन्धान पछि तथ्य खुलेपछि फारुखलाई पनि पक्राउ गरिएको छ ।

प्रहरीका अनुसार फारुखले नेपाल–भारत सीमामा तस्करीका सामान ओसारपसार गर्ने काम गर्थे र त्यस क्रममा जनककुमारीसँग चिनजान भएको थियो । हत्या पश्चात फारुखले नेपाल भारत सीमाबाट भागेर लखिखमपुर खिरी जिल्लामा लुकेका थिए ।

यस घटनामा जनककुमारीलाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाएको छ भने फारुखमाथि कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान जारी राखेको जनाएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖