काठमाडौं, ३ माघ । नेपाली कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरुले पार्टी सभापति शेरबहादुर देउवालगायत शीर्ष नेताहरुलाई मन्त्रालयगत प्रगति विवरण जानकारी गराएका छन् ।
आज (बिहीबार) सभापति देउवा निवास बुढानीलकण्ठमा आयोजित कांग्रेस संसदीय दल कार्यसमिति र मन्त्रीहरूको संयुक्त बैठकमा मन्त्रीहरुले काम गर्ने क्रममा आइपरेका समस्या र चुनौतिहरुसहित प्रगति विवरण सुनाएका हुन् ।
कांग्रेसबाट सरकारमा १० जना मन्त्री र २ राज्यमन्त्री सहभागी छन् । उनीहरुले मन्त्रालयगत ब्रिफिङ सुनाएका थिए । सो क्रममा मन्त्रीहरुले प्रधानमन्त्री केपी शर्मा अोलीबाट काम गर्ने क्रममा प्रत्यक्ष हस्तक्षेप नरहेपनि कार्यसम्पादनको क्रममा कहीँ न कहीँ समस्या रहेको बताए ।
प्रतिनिधि सभाको सबैभन्दा ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनेको ६ महिना वितिसकेको छ । मन्त्रीहरुले यो अवधिमा सोचेअनुरुप काम गर्न नसकिएको पनि स्वीकार गरेका छन् ।
