काठमाडौं, ६ माघ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्र र बैंक दुवै डुब्न नदिने बताएका छन् ।
आज (आइतबार) मन्त्रालयमा आयोजित पत्रकारसम्मेलनलाई सम्बोधन गर्दै उनले अर्थतन्त्र डुब्यो भनेर हावादारी टिप्पणी भइरहेको बताए । मन्त्री पौडेलले अर्थतन्त्र र बैंक दुवै नडुबेको र डुब्न पनि नदिइने बताए ।
साथै, अर्थतन्त्र क्रमशः सुधारको बाटोमा रहेको उनको दाबी छ । मन्त्री पौडेलले भने, ‘अर्थतन्त्र डुबेको छैन, बैंक पनि डुबेको छैन । हामी छौं अर्थतन्त्र डुब्न दिँदैनौं, बैंक पनि डुब्न दिँदैनौं ।
म यो कुरामा विश्वास दिलाउन चाहन्छु । तथ्यले के बताएको छ भने अर्थतन्त्र क्रमशः सुध्रिँदै आएको छ । क्रमशः लय समाउँदै आएको छ, अर्थतन्त्र डुब्यो भनेर हावादारी टिप्पणी गरेर केही अर्थ छैन भन्ने मलाई लाग्छ ।
