• Wednesday 28th of October 2026

रास्वपाका २ नेतामाथि कुटपिट


  • धनकुटा खबर
  • .

काठमाडौ । स्याङ्जा जिल्लाको आँधिखोला नदीमा भइरहेको प्राकृतिक दोहनको विरोधमा जानकारी संकलन गर्न गएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य मेघ आले र केन्द्रीय नेतृत्व क्षमता विकास विभागका सदस्य दिनकर नेपालमाथि कुटपिट भएको छ।

वालिङ नगरपालिका–१० मा घटेको यो घटनामा दिनकर नेपाल गम्भीर घाइते भएका छन्।

रास्वपाले एक विज्ञप्ति जारी गर्दै घटनाको विरोध गरेको छ । विज्ञप्तिअनुसार उनीहरूलाई वालिङ–१० का वडाध्यक्ष तथा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित जनप्रतिनिधि सुनिल खनालले बाटोमै रोकेर रडले प्रहार गरेको उल्लेख छ ।

आक्रमणका क्रममा दिनकर नेपालले लगाएको हेलमेट फुटेको छ भने छेक्ने क्रममा उनको दाहिने हातमा गम्भीर चोट लागेको छ। प्रारम्भिक परीक्षणपछि उनको हातमा फ्याक्चर भएको पुष्टि भएको छ र अहिले पोखरास्थित अस्पतालमा थप उपचारका लागि लगिएको जनाइएको छ।

घटनामा रास्वपाका अर्का नेतासमेत रहेका मेघ आले पनि घाइते भएका छन्। उनीहरूको टोली स्थानीय आँधिखोला नदी क्षेत्रमा डोजर प्रयोग गरेर अवैज्ञानिक रूपमा खोलाको दोहन भइरहेको सूचना पाएपछि अनुगमन गर्न गएको थियो। सो क्रममा वडाध्यक्ष खनालले दुवैलाई दुर्व्यवहार गर्दै आक्रमण गरेका हुन्।

रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “देशमा विद्यमान लुटतन्त्रविरुद्ध जनचेतना फैलाउन र वातावरणीय दोहन रोक्न खटिएको टोलीमाथि सत्तारूढ दलकै प्रतिनिधिबाट हिंसात्मक आक्रमण हुनु अत्यन्त दुःखद र लज्जास्पद छ। यसले सत्ता संरक्षित दोहन र सुशासनमाथिको आक्रमण प्रस्ट पारेको छ।”

रास्वपाले दोषीलाई अविलम्ब पक्राउ गरी हदैसम्मको कानुनी कारबाही गर्न माग गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖