• Wednesday 28th of October 2026

कैदीसँगै मेसमा खाना खाने युगनेता रबि लामिछानेको यस्तो छ दैनिकी


  • धनकुटा खबर
  • .

भैरहवाको आवा रोडस्थित कारागारमा २५० जना अटाउने क्षमता छ । तर, अहिले यहाँ ५९४ जना छन् । अर्थात् क्षमता भन्दा दोब्बरलाई यो कारागारमा राखिएका छन् । जस मध्ये एक छन्– रवि लामिछाने ।

गत २५ चैतदेखि यहाँ रवि लामिछानेले बन्दी जीवन बिताइरहेका छन् । टिनले छाएको छुट्टै ब्लकमा रवि लामिछाने एक्लै बस्छन् । चर्को गर्मी हुने भैरहवामा कारगार प्रशासनले एउटा पंखा दिएको छ ।

रवि लामिछाने सामान्यत: बिहान ५ बजे नै उठ्छन्, र आफ्ना विस्तारा मिलाउँछन् । नित्यकर्म पछि शारीरिक व्यायाम गर्छन् । रवि लामिछानेलाई टेलिफोन र रेडियो सुन्ने सुविधा छ ।

बिहान १० बजेतिर अरु कैदीसँगै मेसमा खाना खान्छन् । रविले कारागारभित्र सबैलाई पकाउने सामान्य दाल, भात र तरकारी खान्छन् । स्रोतका अनुसार रविले अहिलेसम्म केही अपुग भयो भनेर मागेका छैनन् ।

पूर्वगृहमन्त्री भएकाले उनलाई बेलाबेला कारागार प्रशासनबाट सजिलो–अप्ठ्यारोबारे सोधिन्छ । तर ‘सबै ठीक छ, कारागारमा मलाई बढी केही चाहिँदैन, खुशी छु’ भन्दै मुसुक्क हास्ने गरेको प्रहरी स्रोत बताउँछ ।

धेरै समय त रवि लामिछानेले पढ्न खर्च गरिरहेका छन् । अंग्रेजी र नेपाली भाषाका पुस्तकहरू पढ्ने गरेका छन् । ‘उहाँको दिनचर्या अरु कैदी जस्तै सामान्य छ । अन्य कैदीले खाने खाना नै खानुहुन्छ, पुस्तकहरु पढ्न अलि बढी समय दिनुहुन्छ’ कारागार स्रोत भन्छ, ‘आफ्नो पार्टीका नेता कार्यकर्ता भेट्न आइरहन्छन्, अरु दलका नेता त्यति धेरै आएका छैनन् ।’

रवि लामिछानेसँग भेटघाट गर्न हप्तामा ३ दिन (सोमबार, बुधबार र शुक्रबार) समय छुट्ट्याइएको छ । भेट्न आउनेसँग लामिछानेले आफूमाथि प्रतिशोध साधेर दुख दिएको, तर न्यायालयले न्याय दिने विश्वास गर्ने गरेका छन् ।

भैरहवा कारागारमा रहँदा पार्टीका केन्द्रीय पदाधिकारीसँग भेटघाट कुराकानी र छलफल गर्न असहज भएकाले काठमाडौं जान खोजेका छन् । तर यो प्रक्रिया रोकिएको छ । कारागार सरुवा प्रकृया रोकिएपछि लामिछाने केही तनावमा रहेको पार्टी स्रोत बताउँछ ।

तत्कालीन गोर्खा मिडिया नेटवर्कका प्रबन्ध निर्देशक रहेका लामिछानेलाई सुप्रिम सहकारीको निक्षेप हिनामिनामा जिल्ला अदालत रूपन्देहीको आदेश उल्ट्याउँदै उच्च अदालत तुलसीपुरले जेल चलानको आदेश दिएको थियो ।

उनको सुरक्षालाई लिएर निरन्तर सचेत र सर्तक बनेको कारागार प्रशासन बताउंछ ।

रवि र पूर्व डीआईजी छविलाल जोशीविरुद्ध एउटै सुप्रिम सहकारीको निक्षेप दुरुपयोग सम्बन्धी मुद्दा परेको हो । जोशी पनि जिल्ला कारागार रूपन्देहीमै छन् ।

रवि पत्नी निकिताले दिएको बन्दी प्रत्यक्षीकरण निवेदनमा जेलबाट छुट्ने आशा गरेका रास्वपाका नेता कार्यकर्ताहरू अदालतले जेलमै राख्नुपर्ने आदेश पछि निराश छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖