• Wednesday 28th of October 2026

ससुराली, जेठीसासु र सालीको घर जाने बाटोका लागि बजेट हालियो : रामहरि खतिवडा


  • धनकुटा खबर
  • .

काठमाडौ । प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले बजेट समावेशी प्रकारले विनियोजन नगरिएको टिप्पणी गरेका छन्। आइतबार (आज) संसद्‌मा जारी मन्त्रालयगत छलफलमा भाग लिँदै खतिवडाले यस्तो टिप्पणी गरेका हुन्।

संसद्को राज्य व्यवस्था सुशासन समितिका सभापतिसमेत रहेका उनले मन्त्रीहरूले बजेट आफूखुसी विनियोजन गरिएको बताए। ‘बजेट केही ससुरालीको बाटोमा हालिएको, केही जेठी सासुको घरतिर जाने बाटोमा हालिएको, कोही सालीकोतिर पनि हालिएको जस्तो देखिएका छन् कुनै कुनै मन्त्रीज्यूहरूले,’ उनले भने।

यो परम्परा रहन नहुने उनले बताए। ‘यो परम्परा नहोस्, सबैलाई वितरण होस्। मन्त्रीका लागि मात्रै होइन, देशका लागि बजेट वितरण हुने र सबैको पहुँचमा पुग्ने होस्। दुर्गम गाउँतिर खानेपानीका लागि गाग्री बोकेर २ घण्टा हिँड्नुपर्ने अवस्था छ। कहीँ अस्पताल जानका लागि बाटाहरू छैनन्। त्यस्तो दुर्गम ठाउँमा अझ बढी प्राथमिकता दिने परिपाटीको विकास होस्। अहिले त सुगमतमा बढी र दुर्गममा कम हुने परिपाटी छ,’ उनले भने।

यस्तै खतिवडाले सहरी विकास मन्त्रालयको नाम फेर्न प्रस्ताव गरे। उनले सहरीको अगाडि ग्रामीण पनि थपिनुपर्ने बताए। ‘सहरको मात्रै विकास गरेर भएन। यसलाई ग्रामीण तथा सहरी विकास मन्त्रालय नामाकरण गरेर गाउँदेखि सहरसम्म विकास गर्ने मन्त्रालयका रूपमा विकसित गर्न म अनुरोध गर्न चाहेँ,’ उनले भने।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖