• Wednesday 28th of October 2026

बालेन र गुरागाईंबिचको विवादले भोलि काठमाडौँ महानगरको बजेट नआउने


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट भोलि (मंगलबार) नआउने भएको छ ।

काठमाडौँ महानगरमा लामो समय देखि मेयर बालेन्द्र साह र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँबिचको विवादका कारण कानुनी व्यवस्था अनुसार असार १० गते ल्याउनुपर्ने बजेट अनिश्चित बनेको हो ।

महानगर स्रोतका अनुसार मेयर बालेनले उपमेयर सुनिता डङ्गोल,प्रवक्ता नविन मानन्धर, वडा नम्बर १५ का वडाध्यक्ष इश्वरमान डङ्गोल र वडा नम्बर ३२ का वडाध्यक्ष नवराज पराजुलीलाई सबै पार्टीहरूसँग संयोजन गर्न जिम्मा दिएका थिए ।

तीन जनाले सबै दलका प्रतिनिधिहरूसँग सहमति गरी कार्यपालिका बैठक राख्ने मिति तय गर्ने भनिए पनि उनीहरूबिचमा नै सहमति नभएकाले कार्यपालिका बैठक समेत बस्न नसकेको स्रोतले जानकारी दियो ।

स्रोतले भन्यो,‘ कार्यपालिका बैठक अहिलेसम्म नबसेको तथा बजेट निर्धारण समिति बैठक र नीति तथा कार्यक्रम समेत नआएकाले भोली असार १० गते बजेट आउने अवस्था छैन ।’

महानगरका प्रवक्ता नविन मानन्धरले पनि महानगरको बजेट भोलि नआउने जानकारी दिए । उनले कार्यपालिका बैठक तथा नगर सभा बैठक समेत नभएकाले भोलि बजेट नआउने निश्चित भएको बताए ।

उनले भने,‘ भोलि बजेट आउने अवस्था छैन । केही असमझदारीहरू छन् । त्यो मिल्ने बित्तिकै बजेट आउँछ । तर भोलिचाहिँ सम्भावना छैन ।’ तर स्थानीय सरकार सञ्चालन ऐन अनुसार स्थानीय तहहरूले असार १० गतेसम्म नगरसभासक्ष बजेट ल्याउनुपर्ने व्यवस्था छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १७ को उपदफा १ अनुसार कार्यपालिकाको बैठक कम्तीमा महिनाको एक पटक बस्नुपर्छ । तर सात महिना भयो काठमाडौँ महानगरको बैठक हुन नसकेको छैन ।

गत पुस ८ मा बसेको कार्यपालिका बैठकले पुस १४ मा नगरसभाको १६औँ बैठक गरेको थियो । त्यसयता अहिलेसम्म बैठक बसेको छैन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖