• Tuesday 27th of October 2026

केपी ओलीसँग निहुँ खोजेर मेरो राजनीति सिद्दियो भन्ने दाबी मान्दिनँ : भीम रावल


  • धनकुटा खबर
  • .

काठमाडौं, १३ असार । मातृभूमि जागरण अभियान नेपालका संयोजक तथा पूर्व उपप्रधानमन्त्री डा. भीम बहादुर रावलले आफ्नो राजनीतिक भविष्य सिद्दिएको कुरा अस्विकार गरेका छन् । प्राइम टिभीबाट हिजो (बिहीबार) राति प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमको लागि पत्रकार ऋषि धमलाले ‘तपाईंले केपी शर्मा ओलीसँग निहुँ खोज्ने भएर आफ्नो राजनीति सिध्याउनुभयो होईन ?’ भनेर राखेको प्रश्नमा रावलले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले आफू केपी ओलीसँग मिलेर उपप्रधान एवम् गृहमन्त्री नभएको स्पष्ट पारे । उनले आफू देश, जनता र जनताको बहुदलीय जनवादको पक्षमा उभिएको तर केपी ओली त्यसको विपरित गएको दाबी गरे । उनले आफूले एमालेमा विचार र राजनीतिक रुपमा संघर्ष गरेको र ओलीसँग निहुँ नखोजेको स्पष्ट पारे । उनले आफूसँग कार्यकर्ताहरु र नेताहरुको टिम पनि रहेको सुनाए ।

उनले एमालेबाट आफू भागेर नहिँडेको दाबी गरे । उनले भने,‘एमालेबाट म भागेर हिँडेको हुँ त ? मलाई त उहाँले कांग्रेससँग मिलेर, महन्थजीहरुसँग मिलेर प्रधानमन्त्री भएर शक्तिको आडमा स्वेच्छाचारी ढंगले तँ सदस्य भइनस भनेर भनेको हो, म छोडेर भागेको हो र ? केपी ओली र माधव नेपाललाई पटक पटक मिलाउनको लागि भूमिका खेल्ने मान्छे हुँ म । म यो कुरा सार्वजनिक रुपमा बोलिरहेको छु ।’

उनले प्रधानमन्त्री ओलीले कहिल्यैपनि कम्युनिष्ट एकता नगरेको आरोप लगाए । ०७४ सालमा माओवादीसँग गरेको एकता पनि प्रधानमन्त्री खानकोलागि मात्रै गरिएको रहेछ भन्ने कुरा डेढ वर्षपछि गोप्य सहमति बाहिरिएपछि थाहा भएको उनको भनाई छ । उनले माओवादीसँग ओलीले निस्वार्थ ढंगले एकता नगरेको जिकिर गरे ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖