• Tuesday 27th of October 2026

नेपाल र सशस्त्र प्रहरीमा प्रस्तावः १६ बर्षमा पेन्सन, असईमा भर्ना खारेज!


  • धनकुटा खबर
  • .

काठमाडौं । प्रस्तावित प्रहरी विधयेकमा १६ बर्षमा पेन्सन दिने प्रावधान कायम गर्न भनिएको छ।

नेपाल र सशस्त्र प्रहरीका विधयेक अहिले राज्य व्यवस्था समितिमा छलफलका क्रममा रहेको छ।

नेपाल प्रहरीमा प्रहरी सहायक निरीक्षक (असई)को भर्ना बन्द गर्ने प्रस्ताव अघि बढेको छ। त्यसका ठाउँमा प्रहरी नायव निरिक्षक (सई)मा भर्ना लिने प्रस्ताव दुवै संगठनले अघि सारेका छन्।

जवानमा भर्ना भएपछि वरिष्ठ हवल्दारभन्दा माथि जाने अवस्था नबनेको भन्दै संगठनभित्र निराशा उत्पन्न भएकाले असईको भर्ना बन्द गर्ने र सई पदमा भर्ना लिने प्रस्ताव गरिएको हो।

यसो गर्दा तल्लो तहका प्रहरीको बढुवा पनि छिटो हुने र सईमा भर्ना भएकाहरु माथिल्लो तहसम्म पुग्नसक्ने भएकाले भर्नामा पनि आकर्षण बढ्ने सम्भावना केलाइएको हो।

१२ कक्षा उत्तीर्ण गरेकालाई नेपाली सेनाले सहायक सेनानीमा भर्ना लिने गरेको छ। त्यही योग्यता भएकाहरु नेपाल प्रहरीमा भने असईमा भर्ना हुने गरेका छन्।

विधेयकमा वरिष्ठ हवल्दारसम्मको दर्जालाई १६ वर्षमै पेन्सनसहितको अवकाश दिने व्यवस्था पनि छ। त्यस्तै, ३० वर्षे सेवाहद हटाउने प्रस्ताव पनि अघि सारिएको छ।

प्रहरीका एक जना पूर्वमहानिरिक्षक भन्छन्,‘यो प्रस्ताव पारित गरेको खण्डमा संगठन चुस्त र राम्रो हिसाबले चल्ने मात्र होइन, प्रहरीमा समयमा नै राजीनामा दिने क्रम पनि घट्नेछ। अब बेसिक तलबको विषयलाई पनि हेर्न आवश्यक छ।’

राज्य व्यवस्था समितिले छिटो विधेयक पास गर्नेगरी आइतबारदेखि नियमित छलफल अघि बढाएको हो। संसदको यही अधिवेशनबाट प्रहरी विधेयक पारित गर्ने तयारी तिव्र गतिमा बढाइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖