• Tuesday 27th of October 2026

झाँक्रीलाई धकालेर पार्टीबाट निकाल्ने तयारी


  • धनकुटा खबर
  • .

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रहेकी रामकुमारी झाँक्रीको राजनीतिक जीवनमा आइतबार नयाँ मोड आउने भएको छ।

अध्यक्ष माधवकुमार नेपालबारे दिएको अभिव्यक्तिका कारण विवाद र चर्चामा रहेकी झाँक्रीबारे पार्टीको सचिवालय बैठकले आइतबार (असार २२ गते) बोल्ड निर्णय गर्ने तयारी भएको छ।

अध्यक्ष नेपाल ‘मरेको सिनो रहेको र बोकेर हिँड्न नसकिने’भन्दै लुम्बिनी प्रदेशको कार्यक्रममा अर्ली महाधिवेशनको आह्वान गरेकी झाँक्री र पार्टीका अन्य नेताबीचको सम्बन्ध ‘टिठलाग्दो’ बन्न थालेको छ।

पार्टीले स्पष्टीकरण सोधेको विषयमा पनि उनले खण्डन गरिन्। बरु सामाजिक सञ्जालदेखि विभिन्न फोरममा आफूलाई ‘निजी आक्रमण र बडीसेमिइङ’का काम पार्टीका नेताहरुबाट नै भएको लामो पत्र तयार पारी केन्द्रीय समिति र तीन जना नेतालाई बोधार्थ दिएकी थिइन्।

उनले सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल र बरिष्ठ उपाध्यक्ष बेदुराम भुसाललाई पत्रको बोधार्थ बुझाएकी थिइन्।
विहीबार भएको सचिवालय बैठकमा सहभागी अधिकांश नेताले झाँक्रीलाई कारबाही गरी पार्टीबाट निष्काशन गर्नुपर्ने धारणा राखेको स्रोतले जनाएको छ।

झाँक्री ति नेत्री हुन् जो एमालेको विद्यार्थी राजनीतिबाट उदाउँदै अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीमाथि आक्रामक शैलीमा प्रस्तुत भएकी थिइन्।

पार्टी विभाजनको संघारमा रहेका बेला अन्यले मिलाउने कोशिश गरे पनि झाँक्रीले माधवकुमार नेपाललाई तानेर निर्वाचन आयोगमा नेकपा एकीकृत समाजवादी दर्ता गराउन पहल गरेकी थिइन्।

अब उक्त पार्टीबाट झाँक्रीलाई धकालेर निकाल्ने तयारी भएको छ। यसबीचमा उनी नेतृत्वप्रति आक्रामक र पार्टीप्रति अनुदार बनेको आरोप लागेको थियो।

‘पार्टीमा अनुशासन हुन्छ। अध्यक्ष अनुशासनको कुरा गर्दै हिँड्ने अनि पदाधिकारी समेत भैसकेको स्थायी कमिटी सदस्यचाहिँ हुर्मत लिँदै हिँड्न मिल्छ?’, समाजवादीका एक नेताले भने,‘पार्टीबाट निलम्बन मात्र होइन, निष्काशन समेत गर्नुपर्छ भन्ने मत छ।’

आगामी सचिवालय बैठकले झाँक्रीको राजनीतिक भाग्यको निधो गर्ने पनि बताइएको छ। झाँक्री विवादमा तानिएको विषयमा भने अध्यक्ष नेपाल केही पनि बोलेका छैनन्। उनले पार्टीका नेताहरूको कुरा सुनिरहेका छन् भने प्रतिक्रियाबिहीन बनेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖