• Monday 26th of October 2026

स्वीकृत नै नगराई उपसभामुख रानामगर १० पटक विदेश भ्रमणमा


  • धनकुटा खबर
  • .

काठमाडौँ । इन्दिरा राना मगर प्रतिनिधि सभाको उपसभामुख भएपछि १७ पटक विदेश भ्रमणमा गएकी छन् । उपसभामुखले सभामुख समक्ष भ्रमण स्वीकृत गराएर विदेश जानुपर्ने व्यवस्था भए पनि राना मगरले ७ पटकमात्र यस्तो व्यवस्था पालना गरेकी छन् । उनी १० पटक सभामुखसँग स्वीकृत नगराई विदेश भ्रमणमा गएको देखिएको छ ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा एमाले सचिव तथा सांसद योगेश भट्टराईले राना मगर उपसभामुख भएपछि विदेश भ्रमण गरेको तथ्याङ्क प्रस्तुत गरे । बैठकमा विशेष समय लिएर बोल्दै सांसद भट्टराईले भने, ‘उपसभामुखमा निर्वाचित भएपछि १७ पटक विदेश भ्रमणमा जानुभएछ । त्यसमध्ये कानुन अनुसार ७ भ्रमण मात्रै सभामुखज्यूसँग स्वीकृत गराएर जानु भएको रहेछ । १० पटक स्वीकृत नै नगराएर जानुभएछ ।

जनप्रतिनिधिहरूको थलो सम्मानित सदनको नेतृत्व गर्ने व्यक्ति यसरी जाँदा आम नागरिकले कसरी बुझ्ने ? उहाँ कहाँ जानुभएको छ भन्दा के जबाफ दिने ? यही हो आचरण ?’

उपसभामुख राना मगर औपचारिक रूपमा विदेश भ्रमणमा गएको ७ पटक र अनौपचारिक रूपमा विदेश भ्रमणमा गएको १० पटकको सूची रातोपाटीलाई प्राप्त भएको छ । राना मगर औपचारिक रूपमा सन् २०२३ को मे १५ देखि १७ सम्म सिंगापुरमा भएको अन्तर्राष्ट्रिय व्यापारमा आरएसआइएस डब्ल्यूटीओ संसदीय कार्यशालामा भाग लिन गएकी थिइन् । उनीसँग प्रतिनिधिसभा सदस्यहरू अम्मरबहादुर रायमाझी र विनोद चौधरी पनि गएका थिए ।

त्यस्तै सन् २०२३ कै जुलाई ८ देखि ९ गतेसम्म चीनको गुइयाङमा भएको इको फोरम ग्लोबलमा भाग लिन उपसभामुख राना मगर सांसदहरू मैना कार्की, भगवती चौधरी, चन्दा कार्की (भण्डारी) उपसचिव विमलराज जोशीको नेतृत्व गर्दै गएकी थिइन् ।

त्यस्तै उनी सन् २०२४ को सेप्टेम्बर ८ देखि २० सम्म सेन्ट पेटर्सवर्ग रसिया, सन् २०२४ कै जुलाई २ देखि ७ सम्म लिन्झी चाइना, २०२५ को मे ११ मा बंगालादेशसहितका देशमा गएकी छन् ।

त्यस्तै अनौपचारिक रूपमा राना मगरले स्पेन, अमेरिका, भारत, बंगलादेश र हङकङको भ्रमण गरेकी छन् । अनौपचारिक रूपमा उनले ४ पटक अमेरिका, ३ पटक भारतको भ्रमण गरेकी छन् भने स्पेन, बंगलादेश र हङकङमा एक/एक पटक गएकी छन् । -रातोपाटी

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖