• Monday 26th of October 2026

गण्डकीका स्वास्थ्यमन्त्रीले प्रचण्ड सहभागी हुने कार्यक्रम नै रद्द गरिदिएपछि…


  • धनकुटा खबर
  • .

कास्की । लमजुङ जिल्ला अस्पतालको विस्तारित सेवा उद्घाटन कार्यक्रमका लागि तयारी अन्तिम चरणमा थियो । सोही अनुसार पूर्वप्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रमुख अतिथिका रूपमा निम्त्याइयो ।

कार्यक्रमका लागि सबैलाई निम्तोपत्र पनि पठायो । तर अन्तिम समयमा प्रदेश सरकारले अस्पताल विकास समिति नै खारेज गरिदिएको छ ।

समिति मात्रै खारेज भएन, उद्घाटनको अन्तिम तयारी चलिरहेको उक्त कार्यक्रम नै रद्द गर्न गण्डकीका स्वास्थ्यमन्त्री कृष्ण पाठकले निर्देशन दिएको आरोप लागेको छ । जसका कारण उद्घाटन कार्यक्रमका लागि भनेर शुक्रबार पोखरा आइसकेका प्रचण्ड काठमाडौँ फर्किएका छन् ।

विस्तारित सेवाका रूपमा रहेको बेसीशहरस्थित प्रदेश अस्पतालमा सञ्चालित टेलिमेडिसिन तथा ल्याप्रोस्कोपिक (दुरबिन प्रविधिबाट शल्यक्रिया) सेवा उद्घाटन कार्यक्रम रोकिएको हो ।

खारेजीमा परेका समितिका अध्यक्ष हरिजंग तामाङले राजनीतिक पूर्वाग्रहबाट कार्यक्रम रोकिएको आरोप लगाए ।

‘कार्यक्रमको तयारी सकिएको थियो । समिति खारेज भएपनि औपचारिक पत्र अझै आएको छैन,’ तामाङले भने, ‘क्याबिनेट बैठकको निर्णयअघि नै स्वास्थ्यमन्त्रीले फोन गरेर समिति खारेज भयो, कार्यक्रम नगर्नु भनेर मेसुलाई निर्देशन दिनुभयो । यी सबै घटनाक्रमले राजनीतिक पूर्वाग्रह स्पष्ट हुन्छ ।’ उनका अनुसार कार्यक्रम रद्द नगर्न गण्डकीका मुख्यमन्त्री र स्वास्थ्यमन्त्रीसँग धेरै आग्रह गरेपनि चासो दिइएन ।

‘मुख्यमन्त्री र स्वास्थ्यमन्त्रीसँग धेरै रिक्वेष्ट गरियो । तर खारेज भएको समितिले कार्यक्रम नगर्नु भनेर जवाफ मात्रै पठाउनुभयो,’ तामाङले भने, ‘यो घटनाले निकै दुखी बनाएको छ ।’

यसैबिच प्रचण्डले काठमाडौँ पुगेर लमजुङकै नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समितिको नवनिर्मित भवन भने भर्चुअल माध्यमबाट उद्घाटन गरेका छन् ।मन्तव्यका क्रममा प्रचण्डले राजनीतिक कारणले आफू भौतिक रूपमा उपस्थित हुन नसकेको बताएको तामाङले बताए ।

‘ठ्याक्कै अरू कारण केही भन्नुभएन, राजनीतिक हिसाबले आउन नसकेको भन्नुभयो । उहाँको यो कुराले बहुअर्थ राख्छ,’ उनले थपे । तामाङले ३ गते नै प्रचण्डको सचिवालयमा कार्यक्रममा विवाद सिर्जना गरेको विषय जानकारी चाहिँ गराएका थिए । तर, बिहीबारसम्म कार्यक्रम हुने आसामा थिए ।

‘हिजोसम्म कार्यक्रम हुन्छ भनेर नै बसेको हो । तर तारान्तार फोन आइरह्यो । कार्यक्रम रोक्नुस् मात्रै भनिरहे,’ उनले भने, ‘अब सकिँदैन भनेर औपचारिक रूपमै रद्द भएको जानकारी सार्वजनिक गरेँ ।’

प्रचण्ड पोखराको कार्यक्रम सकेर शुक्रबार लमजुङ जाने कार्यसूची थियो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖