नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले राजनीतिक दलका नेतृत्वमा रहनेहरूले आफूलाई सारा पृथ्वी बोकेको सोच्ने बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै रिजालले नेताहरूका त्यस्तो सोचले राजनीतिक दलको नेतृत्वमा पुस्तान्तरण नभएको बताए।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनअघि एक कार्यक्रममा आफूले छाड्दा गर्ल्यामगुर्लुम झर्छ भनेर दिएको अभिव्यक्तिमाथि पनि रिजालले कटाक्ष गरे।
‘नाम लिन जरुरी रहेन। तर नेपालमा कुनै राजनीतिक दलका नेता भन्नहुन्छ मैले छोडिदिएँ भने सबै गर्ल्यामगुर्लम्म झर्छ जस्तो लाग्छ भन्नुहुन्छ। छोड्नै नमिल्ने भएको छ। त्यस्तो के जाने हो थाहा छैन। एकछिन पनि छोड्नै नमिल्ने गरी,’ उनले भने।
उनले राजतन्त्रमा पुस्तान्तरण हुने तर राजनीतिमा पुस्तान्तरण नभएको बताए।
उनले कांग्रेसमा पनि तुवाँलो लागेको बताए।
‘काँग्रेसमा धुलो, तुवाँलो लागेको र पुछ्ने मात्रै काम भयो भने काँग्रेस काँग्रेस जस्तो देखिन्छ,’ उनले भने।
